लैङ्गिक हिंसा मानव अधिकार विरूद्धको जघन्य अपराध रूपमा रहेको प्रदेश ५ की उपसभामुख कृष्णाकुमारी थारूले जोड दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला महिला तथा बाल सञ्जाल, इन्सेकलगायत सङ्घ संस्थाको संयुक्त आयोजनामा मङ्सिर १९ गते बुटवलमा आयोजित लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपसभामुख थारूले उक्त कुरामा जोड दिएकी हुन् ।

बेरोजगारी र आर्थिक अवस्था कमजोर भएका कारण हिंसाका घटनाहरू बढेको भन्दै उनले हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरूलाई जोड दिनुपर्ने बताइन् ।
उपसभामुख थारूले आर्थिक सशक्तिकरण सहित छोरा र छोरी दुवैलाई समान रूपमा शिक्षा दिन सके समाजमा भएका विभेद र हिंसामा कमी आउने बताइन् ।

उनले महिलालाई सधैँ दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने परिपाटीले गर्दा पनि समस्या आएको भन्दै पितृसत्तात्मक सोच र संरचनालाई बदल्न सबैलाई आग्रह गरिन् ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख पवनकुमार भट्टले नेपालको संविधानले गरेको व्यवस्थाको परिपालना गर्न सके यस्ता खालका समस्या नहुने बताए ।
मानव अधिकारको सम्मान संरक्षण, परिपालना र परिपूर्ति राज्यको मुख्य दायित्व भएको बताए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा विसीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको थालनी र लैङ्गिक हिंसाको समग्र अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि समाज सचेत र नैतिकवान हुनु पर्ने बताए । सेलर्डका संयोजक राधा भट्टराईले स्थानीय न्यायिक समितिमा मुद्दा दर्ता भए पनि पीडित महिलाहरूले न्याय नपाएको बताइन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश ५ का सदस्य सावित्रा घिमिरेले हिंसामा परेका व्यक्तिहरूमा पनि अपाङ्ग भएका व्यक्तिहरू अझ दोहोरो विभेदमा परेको बताइन् । तेस्रो लिङ्गी आनिक रानाले राज्यले तेस्रो लिङ्गीका अधिकारहरूलाई पनि अन्य व्यक्ति सरह बुझिदिन आग्रह गरिन् ।
