INSEC Online

📅 २०८३ जेष्ठ २१

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, जाडोको कारण कैदीबन्दीहरू बिरामी

महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र जाडो बढेका कारण कैदीबन्दीहरू बिरामी पर्न थालेका छन् ।

कारागारमा पुरूष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा एक आश्रित बालिका सहित ४६ जना र पुरूष कक्षमा ४ सय ५० गरी कुल ४ सय ९६ जना कैदीबन्दी छन् ।

२०४२ र २०४६ साल र २०६२–०६३ को ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिले कैदीको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी अभिलेखले देखाएको छ ।

‘ख’ श्रेणीको यस कारागारको बन्दी क्षमता १ सय ३५ जनाको रहेको छ । अहिले क्षमता भन्दा चौगुणा बढी कैदीबन्दीहरू खाँदिएर बसाइएको छ ।

कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँदा दिसापिसाव गर्न, नुहाउन र लुगा धुन लामो समयसम्म पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै समस्या भइरहेको कैदीबन्दीहरूको गुनासो छ । महिला कक्षका ४६ बन्दीका लागि एक धारा र एक शौचालय मात्र छ ।

त्यसैगरी पुरूष कक्षका ४ सय ५० कैदीबन्दीका लागि चार धारा र चार ओटा शौचालय मात्र हुँदा दिसापिसाव लामो समयसम्म पालो कुर्नु पर्ने समस्याले नै बिरामी बढ्ने पुरूष कक्षका एक कैदीले गुनासो गरे । नियमित सरसफाई गर्न नपाएर नापेर दिएको चार हात जमीनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरूष कक्षका एक कैदीले बताए ।

पछिल्लो पटक जाडो बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आपूmहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरूष कक्षका अर्का एक कैदीले टिप्पणी गरे ।

कारागार प्रमुख सौभेन्द्र ठाकुरले कैदीको गुनासो स्वीकार गर्दै भने–‘कारागारमा दिनहुँ कैदीबन्दीहरू थपिन्छन् । तर थपिएको अनुपातमा मौसम अनुसारका लुगा र उपचार खर्च आउँदैन । घानमा चाँहि म पर्छु ।’

‘के गरौँ हजुर ? आफ्नो ज्यान नै पहाड भयो ।’–कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले भने । बलात्कार मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका साफी जाडो बढ्दै आएसँगै न्यानो लुगा र उचित खानपिन नहुँदा श्वासप्रश्वास (दम) को समस्याले पीडित छन् ।

‘घरबाट कोही फर्केर आउँदैनन् । यहाँ (कारागार) लुगा कहिले पाइने हो ठेगान छैन ?’–पातलो धोतीको आधा भागले कम्मर लपेट्दै लाज ढाकेर आधा भाग धोतीले जिउको माथिल्लो भाग ढाकेका साफीले भने–‘थाहा छैन, ईश्वर मलाइ के गराउन लागेका छन् ?’

कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ७० वर्षीय कैदी रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ । साफी र मुखियामात्र नभएर जाडो बढेसँगै कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । कारागारमा दम, रूघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायतका रोगका बिरामी बढेको कारागार प्रशासनले जनाएको छ ।

वर्षको दुई पटक मौसम अनुसारको कपडा र जाडोमा कम्बल दिने चलन भएपनि ठिक समयमा सामग्री नपाउँदा बढ्दो जाडोमा कैदीको विजोग नै भएको छ । ‘कोहीकोहीको घरबाट कपडा आउँछ र सजिलो हुन्छ ।’–पुरूष कक्षका चौकीदार श्रीनारायण महतोले भने–‘घर परिवारले वास्ता नगरेका कैदीको चाँहि हरिबिजोग नै छ ।’

अहिले दिनहुँ नियमित उपचार लिनेको सङ्ख्या १ सय २५ को हाराहारीमा रहेको कारागार प्रमुख समेत रहेका स्वास्थ्यकर्मी ठाकुरले बताए ।

जम्मा १ सय ३५ जना कैदी राख्न सक्ने क्षमताको कारागारमा अहिले झण्डै चौबर सङ्ख्या भएपछि बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाई छ । समयमा लुगा र कम्बल कारागार व्यवस्था विभागले नपठाउँदा वितरण गर्न नसकिएको उनले बताए ।

अन्य

भिडियो