INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व कम्लरी बालिकाको उद्धार गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पूर्व कम्लरीहरूको तत्काल उद्धार गर्न मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले मङ्सिर १२ गते घोराहीमा मुख्यमन्त्रीलाई आठ बुँदे मागपत्र सहित ज्ञापन पत्र बुझाएकी छन् ।

photo20181128dang

मुक्त कम्लरी विकास मञ्चले अझै पनि बालिकाहरू कम्लरी बस्न बाध्य भएको भन्दै तत्काल उद्धार गर्न प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेललाई आग्रह गरेको छ ।

ज्ञापनपत्रमा देश मुक्त कम्लरी राष्ट्र घोषणा भइसकेको र कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाइने व्यवस्था भएपनि अहिले पनि कम्लरीका नाममा बालिकाहरू बाधा मजदुरको रूपमा काम गर्नु परिरहेको भन्दै उनीहरूको तत्काल उद्धार गरी उचित पुनस्र्थापनाको माग गरिएको छ ।

यसअघि उद्धारका लागि कम्लरी बालिकाको नाम, ठेगाना र कम्लरी राख्नेहरूको नामावलीसमेत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई बुझाए पनि अहिलेसम्म उद्धारको कुनै पनि काम हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको मुक्त कम्लरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले बताइन् ।

उनका अनुसार पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बालिकाहरू अर्काको घरमा बाँधा मजदुरको रूपमा रहेका छन ।

मुक्त कम्लरी विकास मञ्चका अनुसार दाङका १८, बाँकेका चार, बर्दियाका २९, कैलालीका २२ र कञ्चनपुरका ६ गरी ७९ जना बालिकाको उद्धार गर्न बाँकी रहेको छ ।

उनीहरूलाई लुकिछिपी घरको काममा लगाइएको मञ्चले जनाएको छ । त्यसैगरी केही बालिकाहरू कम्लरीको रूपमा लगेर बेपत्ता पारिएकाले उनीहरूको खोजी गरिनुपर्ने माग समेत गरिएको छ  ।

दाङमा ५ हजार १ सय ९७ जना कम्लरी मुक्त भइसकेका छन् भने बाँकेबाट ७ सय ६३, बर्दियाबाट २ हजार ८ सय ३८, कैलालीबाट ४ हजार १ सय ६९ र कञ्चनपुरबाट ९ सय २ गरी १२ हजार ८ सय ६९ जना मुक्त भएको मुक्त कम्लरी विकास मञ्चले जनाएको छ ।

अन्य

भिडियो