२५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेको आरोपमा जुगल गाउँपालिका-४ का ५० वर्षीय सुब्बा तामाङ र सोही ठाउँकी ४५ वर्षीया धनमाई तामाङविरूद्ध मङ्सिर १० गते गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितहरूले असोज ६ गते धनमाई तामाङको छोरीलाई कथित बोक्सीको मन्त्र लगाएर बिरामी पारेको आरोप लगाएर गाउँबाट बहिष्कार गरेको पीडितपक्षको आरोप छ ।
आफूलाई बोक्सीको आरोप लगाएर गाउँ निकाला गरेपछि गुम्बास्थित माइती घरमा गएर बसेको पीडितको भनाई छ । घटना भएको केही दिनपछि गाउँपालिकामा उजुरी गरेको र गाउँपालिकाले सुनुवाइ नगरेपछि आफू जिल्ला प्रहरी कार्यालय आएको पीडितको भनाई छ ।
आरोपितहरूलाई गिरफ्तार गर्न तेम्वाथान प्रहरी चौकीलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।