INSEC Online

📅 २०८३ जेष्ठ २१

७३ जना कैदीबन्दीलाई एउटा मात्रै शौचालय हुँदा समस्या

जिल्ला कारागार सल्यानमा बस्दै आएका कैदीबन्दीका लागी पर्याप्त मात्रामा शौचालय नहुँदा समस्या भएको छ । हाल कारागारमा रहेका ७३ जना कैदीबन्दीले रातको समयमा एकमात्र शौचालय प्रयोग गरिरहेका छन् ।

‘दिनभरको लागी त खासै समस्या छैन ।’–सवारी ज्यान मुद्दाको सजाय भोगिरहेका ३३ वर्षीय कैदी हरिलाल अधिकारीले भने–‘रातको समयमा भने समस्या हुने गरेको छ । बेलुका ६ बजेतिरबाट बाहिरको गेट बन्द हुन्छ ।’

उनले भने–‘बाहिरको गेट बन्द भएको समयमा भित्र रहेको एउटा त्यो पनि जीर्ण अवस्थाको शौचालय प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।’

अर्का कैदी ४५ वर्षीय जङ्गबहादुर खत्रीले पनि पुरूषहरूका लागी भित्र एउटा मात्र शौचालय हुँदा बिहानको समयमा समस्या हुने गरेको बताए । बिहान उठ्ने बित्तिकै शौचालय जाँदा पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।

जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीका अनुसार कार्यालयको स्थानको बनावटले गर्दापनि यस्तो समस्या भएको छ । ‘कार्यालयमा पर्याप्त स्थान पनि छैन । जसले गर्दा समस्या सृजना भएको छ ।’–उनले बताए ।

‘दिनभर कैदीबन्दीलाई बाहिरको कम्पाउण्डमा ल्याइन्छ । जहाँ पारिलो घाम ताप्न र अन्य क्रियाकलाप गर्नुका साथसँगै शौचालय पनि दुई ओटा भएकाले खासै समस्या पर्दैन । तर, बेलुका बाहिरको कम्पाउण्डबाट भित्र पठाएपछि भने कहिलेकाँही समस्या भोग्नु परेको हुन सक्छ ।’–उनले भने ।

महिलालाई भने पर्याप्त शौचालयको व्यवस्था रहेको कार्यालय प्रमुख केसीले बताए । हाल यस कारागारमा ९३ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । जसमा पुरूष ७३ जना र महिला १८ जना तथा दुई जना नाबालक रहेका छन् ।

अन्य

भिडियो