जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कारागार निरीक्षण गर्दा समस्यै–समस्या पाइएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुख सहित कारागार पुगेका जनप्रतिनिधिका अनुसार नयाँ कारागार निर्देशिका नबन्दा अवधि पुगेका कैदी कैदमुक्त हुन नपाएको, जेलमा आपसी सम्मान र मायाँको वातावरण कम भएको लगायतको समस्याहरू कारागारमा पाइएको छ ।
कात्तिक ३० गते कारागार निरीक्षण गर्दा भान्छा कोठामा फर्निचरको व्यवस्था नभएको, सानो ट्याङ्की भएकाले भरिएर पानी खेर जाँदा पानीको अभाव हुने गरेको, फोहोरमैला व्यवस्थापनको व्यवस्था नभएको पाइएको जनाइएको छ ।
कारागार भवनको पर्खाल चर्किएका कारण कैदीबन्दीहरू जोखिमपूर्ण भवनमा बस्न बाध्य भएको देखिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।
कारागारको भौतिक अवस्था, कैदीबन्दीको समस्या, सेवासुविधालगायतका विषयमा जानकारी लिनका लागि जनप्रतिनिधिहरूले जिल्ला कारागार शाखाको निरीक्षण गरेका हुन् ।
टोलीले कारागारको भवन, कैदीबन्दी बस्ने र सुत्ने कोठा, भान्छा कोठा, सुधारगृह पुस्तकालय, कैदीबन्दीले अपनाउँदै आएको ढाकाको टोपी बुन्ने, मुडा बनाउने र बाँसका सामान निर्माणसम्बन्धी पेशा लगायतको अवलोकन गरेको छ ।
जनप्रतिनिधिले कारागारमा बसिरहेका कैदीबन्दीका सामुहिक र व्यक्तिगत समस्याका विषयमा जानकारी लिएका छन् ।
जिल्ला कारागार खोटाङको निरीक्षण पश्चात प्रमुख जिल्ला अधिकार सुरेन्द्रराज पाण्डेले कारागारमा समस्यै समस्या रहेको बताएका छन् ।
प्रजिअ पाण्डेले कारागार व्यवस्थापनले न्यूनतम कुराहरूलाई व्यवस्थापन नगर्दा कैद भुक्तान गरिरहेकाहरूले दुःख पाएको तर्फ आफू गम्भीर भएको बताएका छन् ।
कारागारको निरीक्षण पश्चात प्रजिअ पाण्डेले कारागार प्रशासन र ब्यवस्थापनसँग समन्वय गरी समस्याको समाधान गरिने बताए ।