INSEC Online

📅 २०८३ जेष्ठ २१

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८२ भदौ २४ गते बिहान साढे ८ बजेदेखि लागु हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको वक्तव्य अनुसार अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, ललितपुरले ०८२ भदौ २४ गते बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु  आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । वडा नम्बर १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु  लगाइएको जनाइएको छ । यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।

सानेपा क्षेत्रमा सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र र दक्षिणतर्फ इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा ०८२ भदौ २४ गते हस्ताक्षतिर आदेशमा उल्लेख छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८: ३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

अन्य

भिडियो