भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १७ जनाको उपचारको क्रममा मृत्यु छ । उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक जना गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएका बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाईं, कीर्तिपुरका ४२ वर्षीय बुद्धि बहादुर तामाङ, ठेगाना नखुलेका २८ वर्षीय गौरव जोशी, ठेगाना नखुलेका २४ वर्षीय सौरभ कटुवाल रहेका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले सुनसरीको इटहरीमा जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको इन्सेक सुनसरी प्रतिनिधिसँगको कुराकानीमा पुष्टि गर्नु भएको छ ।
प्रहरीको गोली प्रहारबाट घाइते भएका दुई जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको एसपी तिम्सिनाले बताउनु भयो ।
सुनसरीको इटहरीमा प्रहरीको गोली प्रहारबाट घाइते भई उपचारको क्रममा मृत्यु भएका दुई जना मध्ये एक जना इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीले प्रहार गरेको गोली लागेर कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु दंगाल घाइते छन् । प्रदर्शनमा ४ सय भन्दा बढी घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वर, सिंहदरबार, बालुवाटार र शितल निवास वरपर कर्फ्यु आदेश जारी गरेको छ ।
सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । भदाै २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।