भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते रुपन्देहीमा प्रर्दशन गरेका छन् । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न भदौ २३ गते दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउगर्न नपाउने गरी बुटवल क्षेत्र (पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिमा बेलवास चोक सम्म, उत्तरमा चिडिया खोलासम्म, दक्षिणमा मंगलापुर् सम्म ) भैरहवा क्षेत्र (पूर्वमा रोहिणीखोला पुलसम्म, पश्चिममा बेथरीपुल सम्म, उत्तरमा बुद्ध चोकसम्म, दक्षिणमा मेउडीहावा सम्म, बुटवल बेलहिया सडक खण्डको दायाँ बायाँ १०० मिटर सम्म ) सम्म कफर्यु आदेश जारी गरेको छ ।
१ सय ५० जना युवाहरुको समूहमा आएका आन्दोलनकारीहरुले रुपन्देही स्थित नेपाली काँग्रेसको कार्यालय परिसरमा राखिएका गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ चढ्ने बा २० च ७९५२ , जिल्ला कोषाध्यक्ष हरि अर्याल चढ्ने बा १७ च २२२७, जिल्ला सहसचिब विष्णु थापा लुम्बिनी प्रदेश ००१च ०८७२ र ठाकुर प्रसाद गुरीको लु २ च ५४१८ को कारमा क्षती पुगेको छ । यसैगरी लु ३३ प १७०७ को स्कुटर र लु २२ प ५१६२ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको जिल्ला कोषाध्यक्ष हरि अर्यालले बताउनु भयो ।
त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा नगरपालिका ८, ४ नं स्थित घर, नेपाली काँग्रेसको भैरहवामा रहेको पार्टी कार्यालय र नेकपा एमालेको तिलोत्तमा नगरपालिका-१५ स्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरी क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालयका एस पी प्रदिप बहादुर क्षेत्रीले बताउनुभयो ।