INSEC Online

📅 २०८३ जेष्ठ २१

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै इन्सेक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ६३ औँ रेडक्रस दिवसको अवसरमा पाल्पामा पहिलो पटक ब्लड बैंक सुरू गरिएको हो । रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएपछि रगत अभावका कारण बुटवल लगायतका क्षेत्रबाट नियमित रुपमा रगत ल्याउनु पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका अध्यक्ष बाबुराम कार्कीले अबका दिनमा पाल्पामा रगत अभावको समस्यालाई समाधान गर्न रक्त सञ्चार सेवा केन्द्र सहयोगी हुृने बताउनु भयो । विगतमा आकस्मिक अवस्थामा रगत अभावका कारण बिरामी र परिवारजनले कठिनाइ व्यहोर्नु परेको थियो । अबका दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष कार्र्कीले बताउनुभयो ।

पाल्पामा हरेक महिना ३ सय देखि ३ सय ५० प्वाइन्ट र वार्षिक रुपमा ४ हजार ५ सय पिन्ट रगतको आवश्यकता पर्ने गरेको छ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन रोगका बिरामीहरूको लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीहरुलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरी सञ्चालनमा ल्याएको रेडक्रस पाल्पाका उपसभापति भिमसेन कार्र्कीले बताउनु भयो ।

पाल्पामा दैनिक रुपमा आवश्यक पर्ने रगतको अभाव समस्या समाधानका लागि अस्थायी रुपमा शाखा कार्यालयमै रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गरिएको र स्थायी रुपमा तानसेन नगरपालिका–१ भुसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले बताउनु भयो ।

रक्तसञ्चार सेवा केन्द्र भवन निर्माणको लागि शहरी विकास मन्त्रालयबाट गत वर्ष १ करोड ५० लाख र चालु आर्थिक बर्षमा ३ करोड रुपियाँ विनियोजन भएको थियो ।
नियमित रुपमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रसले विभिन्न व्यक्ति संघ संस्थाहरुबाट ६८ लाख रुपियाँ सङ्कलन गरेको र रकम सङ्कलन अभियान जारी रहेको सभापति कार्कीले बताउनु भयो ।

रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि संघीय स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपियाँमा अत्याधुनिक उपकरण खरिद भएको, रामपुर नगरपालिकाबाट १० लाख रुपियाँ बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट ५ लाख रुपियाँ बराबरको एसि फ्रिज, रिव्दीकोट गाउँपालिकाबाट ५ लाख रुपियाा बराबरको व्याट्री व्याकअप लगायतका सरसमान खरिद गरिएको सभापति कार्कीले बताउनु भयो ।

अन्य

भिडियो