सिंजा गाउँपालिका–१ स्थित धाँपा स्वास्थ्य चौकीमा ०८२ भदौ ११ गते राति पहिचान नखुलेको समूहले तोडफोड गरेको स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद तिवारीले जानकारी दिनुभयो ।
तोडफोडपछि एक ओटा ल्यापटप, दुई ओटा डेस्कटप कम्प्युटर, पाँच ओटा बल्ब र अस्थायी स्वास्थ्य उपकरण समेत चोरी भएको उहाँले बताउनु भयो । ‘बाहिरको मुख्य ढोका फोडिएको थियो । भित्री कोठाका ढोका पनि फोडिएको छ । यसअघि पनि यस स्वास्थ्य चौकी पटक–पटक तोडफोड भएको थियो,’ उहाँले भन्नुभयो, ‘यो तेस्रोपटक तोडफोड भएको हो ।’ सुरक्षाको चुनौती बढेको सिंजा गाउँपालिका–१ का वडाध्यक्ष हरिन्द्र आचार्यले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले घटनाका विषयमा नराकोट प्रहरी चौकीलाई अनुसन्धान गर्न निर्देशन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजभोलि यस्ता सार्वजनिक संरचना तोडफोड र चोरीका घटना बढेको देखिन्छ । प्रहरीले अनुन्धान गरिरहेको छ ।’