वर्षायाम सुरु भएसँगै सिन्धुली अस्पतालमा मौसमी फ्लु र अन्य सङ्क्रमणजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी, असन्तुलित खानपान र मौसमी सङ्क्रमणका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगले प्रभावित बिरामीहरू दैनिक ५ सयसम्म अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाका अनुसार यो वृद्धि ‘सिजनल फ्लु‘ र वर्षायामसँग सम्बन्धित सङ्क्रमणका कारण भएको हो । उहाँका अनुसार इमर्जेन्सीमा पनि दैनिक ४०–५० बिरामी उपचारका लागि आउने गर्दछन् ।
अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै स्वास्थ्य पहुँचमा चुनौती उत्पन्न भएको छ । ५० शैय्याको क्षमता भएको अस्पतालमा हाल १ सय शैय्यासम्म विस्तार भए पनि दैनिक बिरामी र विशेषज्ञ चिकित्सकको अनुपात मिल्न सकेको छैन ।

स्वास्थ्य अधिकारको सुनिश्चिततामा अर्को चुनौती औषधी अभाव देखिएको छ । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले अस्पताललाई दिनुपर्ने करिब ७ करोड रुपियाँ लामो समयदेखि भुक्तानी गरेको छैन । जसले गर्दा अस्पतालको फार्मेसीले उपलब्ध गराउने औषधीमध्ये अधिकांश सकिएका छन् । स्वास्थ्य बिमा गरेका बिरामीले अहिले बाहिरको पसलबाट औषधि किन्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालका अनुसार बिमा बोर्डले रकम नपठाउँदा बिरामीलाई दिनुपर्ने औषधी सकिँदै गएको छ, चिकित्सकलाई दिनुपर्ने इन्सेन्टिभ रकम पनि रोकिएको छ ।
लामो समयसम्म बिमा रकम नपठाइएकोले स्वास्थ्य सेवा प्रवाह, औषधी आपूर्ति र चिकित्सक व्यवस्थापनमा गम्भीर असर परेको अस्पताल व्यवस्थापनले जनाएको छ । अध्यक्ष ढकालले यसरी निरन्तर समस्या रहिरहेमा दैनिक सेवा प्रवाहमा समेत सङ्कट आउन सक्ने बताउनुभयो ।
