सुस्त मनस्थितिकी २२ वर्षीया छोरीलाई बलात्कारीबाट बचाउँदा ६७ वर्षीय ज्येष्ठ नागरिकको गोडा बलात्कार घटनाका आरोपितले भाँचिदिएका छन् ।
कात्तिक २२ गते राति १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर मनपा–११ का २२ वर्षीय हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।
आफू बलात्कृत हुन खोज्दा ती युवती रोइकराइ गरेपछि बुवाले थाहा पाइ छुटाउन जाँदा उल्टै आरोपितले पीडित ज्येष्ठ नागरिकलाई उचालेर फालेको पीडित पक्षले जनाएको छ ।
खाटको धारमा लागेर आफ्नो गोडा भाँचिएको पीडितले बताए । उनको उपचार भरतपुर अस्पतालमा भइरहेको छ ।
आरोपितलार्य प्रहरीले कात्तिक २३गते गिरफ्तार गरेको छ । उनीविरूद्ध पीडित युवतीले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कार प्रयास गरेको भनी उजुरी दिएकी छन् ।
आरोपितविरूद्ध जबरजस्ती करणी प्रयासमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।