वर्षाका कारण पहिरो गई घर जोखिममा भएपछि बिस्थापित भएका लिसंखुपाखर गाउँपालिका—५ जेठलका १८ घरपरिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका छन् ।
०८२ साउन ३ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण बस्ती नजिक ठूलो पहिरो गएर बस्तीलाई जोखिम बनाएपछि साउन ६ गते १८ घरपरिवार आफ्नो घर छाडेर अन्यत्र विस्थापित भएका थिए ।
अविरल वर्षाका कारण घर पूर्ण क्षति हँुदा उनीहरु सोही वडाको पल्लो गाउँमा रहेका आफन्त तथा स्थानीय व्यक्तिहरुको घरमा आश्रय लिएर बस्दै आएका छन् । पीडितहरूले अहिलेसम्म राज्यबाट राहत पाउन नसकेको पीडित सुर्वणराज श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले पहिरोबाट क्षति भएको घरहरुको प्रहरी मुचुल्का मुडे प्रहरी चौकीले बनाएर लगेको भएपनि अहिलेसम्म कुनै पनि निकायबाट राहत नपाएको बताउनुभयो ।
स्थानीय सरकारले नै राहत दिलाउने सहमती भएको जिल्ला विपद व्यवस्थापन समिति तथा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले रकम निकासा हुन ढिलाइ भएका कारण राहत रकम दिन पालिकाबाट ढिलाइ भएकोमा अब तत्कालै राहत वितरण गरिने बताउनुभयो ।