INSEC Online

📅 २०८३ जेष्ठ २१

११ हजार बढी घरधुरी प्राकृतिक विपद्को जोखिममा

रुकुमपश्चिमका ११ हजार बढी घरधुरी विपद्को जोखिममा रहेका छन् । जिल्लाका ६ वटा पालिकाका ११ हजार २ सय २९ घरधुरी र ५९ हजार ९ सय ७४ जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूको सिफारिस तथा समन्वयमा तयार पारेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८२ मा उक्त विवरण समावेश गरिएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रतिकार्य योजनामा विपद् जोखिममा रहेका वडा र टोल, घरधुरी, जनसङख्या, यसअघि भएको क्षतिको विवरणसहित क्षेत्रगत कार्ययोजना र जिम्मेवारी विभाजन गरिएको छ । भौगोलिक बनावट तथा अव्यवस्थित भौतिक निर्माणका क्रियाकलापहरूका कारण जिल्ला विपतको जोखिममा रहेको उहाँले बताउनु भयो । प्रतिकार्य योजनामा जिल्ला सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिकाको १४ वटै वडाका ८४ घरधुरी र ७ सय ४० जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ लगायतका विपद्जन्य घटनाको जोखिममा रहेको उल्लेख छ ।

त्यसैगरी चौरजहारी नगरपालिका भित्रका ८ सय ४० घरधुरी र ३ हजार ७ सय ७० जनसङख्या जोखिममा रहेका छन् । आठबिसकोट नगरपालिकाका १४ वटै वडामा २ हजार २ सय २१ घरधुरी र ९ हजार १ सय २५ जनसङ्ख्या जोखिममा रहेका छन् । १ हजार ८ सय ७ रोपनी जग्गा जमिनमा क्षति भएको जनाइएको छ ।  बाँफिकोट गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार यहाँका १० वटा वडामध्ये वडा नम्बर ७ बाहेक ८ सय ८५ घरधुरी र २ हजार ४ सय ६९ जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङलगायतको विपतको जोखिममा रहेका छन् ।

यहाँको करिब ६ हजार ६ सय ८९ रोपनी जग्गा जमिनमा समेत क्षति हुने गरेको छ । सानीभेरी गाउँपालिकाको ११ वडाका २ हजार १ सय ८० घरधुरी र २० हजार ३ सय ५० जनसङ्ख्या जोखिममा रहेका छन् ।

गाउँपालिकाले वडाका सबै बस्तीहरू र १० हजार ५ सय वर्गमिटर जग्गा जोखिममा रहेको जनाएको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाका १० वडामा ५ हजार १९ घरधुरी र २३ हजार ५ सय २० जनसङ्ख्या जोखिममा रहेको उल्लेख गरिएको छ । यहाँको ७ हजार ४ सय २५ रोपनी जग्गा जमिन क्षतिको जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । गाउँपालिकाले वडाका सबै बस्ती जोखिममा रहेको जनाएको छ ।

अन्य

भिडियो