अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा दशौँ वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०८२ वरिष्ठ अधिवक्ता हिम्मत सिंहलाई प्रदान गरिएको छ। वैद्य–प्रकाश मानव अधिकार कोष सप्तरीले मानव अधिकारकर्मी स्व. प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसको अवसरमा ०८२ साउन १६ गते राजविराजमा आयोजना गरेको कार्यक्रममा सिंहलाई ११ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
८४ वर्षीय सिंहले करिब पाँच दशकदेखि सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाएर वकालत पेशामा सक्रिय रहँदै आएका छन्। विद्यार्थी आन्दोलनमार्फत कानुन व्यवसाय र मानव अधिकार क्षेत्रमा प्रवेश गरेका सिंहले २०२६ सालमा सर्वोच्च अदालतमा वकालत सुरु गर्नु भएकाे थियाे। २०४२ सालमा वरिष्ठ अधिवक्ता बन्नु भएका उहाँ मानव अधिकार र प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय हुनुहुन्छ।
कार्यक्रममा छैटौँ ‘उर्मिला देवी गीत गायन पुरस्कार २०८२’ मैथिली महिला परिषद्की सदस्य रूपा देवलाई प्रदान गरिएको छ। उनलाई उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञावलीलगायत अतिथिहरूले सम्मानपत्रसहित २ हजार ५ सय रुपियाँ नगद प्रदान गरिएकाे थियाे ।
उर्मिला देवी झाको नाममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले स्थापना गरेको सो पुरस्कारमार्फत हरेक वर्ष जिल्लामा मैथिली गीत गायनमा उत्कृष्ट प्रदर्शन गर्ने एक महिलालाई सम्मान गरिदै आएकाे छ।
पुरस्कार वितरण समारोह बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेस प्रदेश सदस्य माला कर्ण, उच्च अदालतका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञावली, इन्सेकका पूर्व अध्यक्ष सुबोध राज प्याकुरेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रवणकुमार देव, नागरिक समाजका जिल्ला अध्यक्ष थानसिंह भंसालीलगायतले पुरस्कृत दुवैलाई बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियाे ।



