अन्नपुर्ण गाउँपालिका–१ की २० वर्षीया पुजा परियारलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा सोही ठाउँका २४ वर्षीय सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले कात्तिक २८ गते ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधिश काजीबहादुर राईले बोक्सी आरोप कसुर ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ ‘क’ ‘ख’ ‘घ’ र ‘ङ’ र उपदफा ४ अनुसार कात्तिक २८ गते उक्त फैसला गरेको जिल्ला अदालत, कास्कीले जनाएको छ ।
जिल्ला अदालतको फैसला अनुसार सोही घटनाका आरोपित २० वर्षीया राजकुमारी परियार, ३४ वर्षीया माया परियार, ५२ वर्षीया उमाया परियार र २८ वर्षीय राजु परियारले भने सफाइ पाएका छन् । घटनाको बारेमा पीडित पक्षले जेठ ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यसअघि जिल्ला अदालतको जेठ ११ गतेको आदेश अनुसार आरोपित सन्तोष परियार ५० हजार रुपियाँ र अन्य ४ जना आरोपित २० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।
वैशाख २० गते आरोपितहरूले आफुलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी थिइन् । घटनाका आरोपितहरूलाई ०७५ वैशाख २३ गत प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परिक्षण र उपचार वैशाख २३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो । ‘कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार’ शीर्षकमा वैशाख २४ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।