नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य गोरखा जिल्ला अजिरकोट गाउँपालिका–३ हँसपुरकी ४१ वर्षीया उमा भुजेल र झापा जिल्ला दमक नगरपालिका–२ बेलडाँगीका ३१ वर्षीय सुमनसिंह पौडेललाई सप्तरी प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले गिरफ्तार गरी अभद्र व्यवहारको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनु भयो ।
अन्तरिम व्यवस्थापिकामा विधायक समेत बन्नु भएकी प्रतिबन्धित नेकपाकी पूर्व पोलिटव्युरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
सुनसरीमा दुवै जनालाई तीन ओटा मुद्दा चलाएकोमा अदालतले सबैमा साधारण तारखेमा रिहा गर्ने आदेश गरेपछि अदालत बाहिर निक्लने बितिक्कै प्रहरीले पुनः गिरफ्तार गरी नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको परिवारका सदस्यले बताएका छन् ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।