INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यासको छांगरु र तिंकरमा खाद्यान्न अभाव, स्थानीय मार्कामा

व्यास गाउँपालिक–१ छांगरु र तिंकरमा खाद्यान्न ढुवानी गर्ने बाटो नहुँदा आफूहरुलाई खाद्यान्न अभाव भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

गत वैशाखमा कुञ्चा (बासाइसराइ) सरेका व्यासीहरुको लागि नेपाल भएर गाउँ जाने बाटो नहुँदा खाद्यान्न अभाव हुँदा प्रतिकेजी २ सय ५० रुपियाँ चामल किनेर खानु पर्ने बाध्यता रहेको यस क्षेत्रका स्थानीयहरुले इन्सेक प्रतिनिधिसँगको भेटमा दुखेसो पोखेका छन् ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीहरुले यो पटक लकडाउनका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् ।

नेपालको बाटो भएर व्यास गाउँपालिकाको छांगरु र तिंकरमा चामल धुवानी गर्न नसकिने भएपछि चीनबाट निर्यात गरिएको पुरानो चामल प्रतिकिलो २ सय ५० रुपियाँ खरिद विक्री भइरहेको छांगरु बुदीमा होटल व्यवसाय गर्दै आउनु भएका व्यापारी देवसिंह खातीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नेपालकै भूमि भएर चामल धुवानी गर्ने बाटो छैन् । यस क्षेत्रका केही पसलमा मात्रै चामल पाइन्छ ।  चामल किन्न नसकिने अवस्था छ । बाँच्नकै लागि भएपनि महंगो मुल्य तिरेर खानु पर्ने बाध्यता छ ।’

अहिले छांगरु र तिंकरमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयले गाउँमा पाइने पुरानो अन्न खाएर गुजारा चलाउन थालेको स्थानीय जगदीश बोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘पुरानो अन्नबाली सुकाएर खाने गरेका छौँ । फापर, कोदो जस्ता पुराना अन्नहरु अहिले आएर प्रयोग गर्दैछौँ ।’

सरकारले सुरक्षाकर्मीको लागि हेलिकेप्टरमार्फत खाद्यान्न ढुवानी गरेपनि व्यासमा बस्ने स्थानीयको लागि खाद्यान्न ढुवानी नगरेका कारण समस्या भएको स्थानीयको आरोप छ ।

विगतमा ८० देखि ९० रुपियाँ प्रतिकिलो पाइने चामलको मुल्य अहिले दोब्बर भन्दा बढिले बृद्धि भइरहेकोले आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्य सङ्कट सुरु भएको स्थानीय गीता बोहोराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘घरमा पुरानो अन्न फापर, उवा, नप्पल हुनेले त्यहि प्रयोग गर्छन् । पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था आएको छ । सरकारले समयमै चामल ढुवानी नगरेको खण्डमा दुवै गाउँका पशुपालक कृषकहरुलाई भोकमारी हुने अवस्था आएको छ । ’

व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले छांगरु र तिंकरको लागि छिट्टै खाद्यान्न ढुवानी हुँने बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यहाँका दुवै गाउँको लागि सदरमुकाम खलंगामा खाद्यान्न पुगिसकेको छ । मौसम सफा हुँने वित्तिकै दुवै गाउँको लागि खाद्यान्न ढुवानी हुन्छ । सरकारले २ सय क्वीन्टल खाद्यान्न पठाएको छ ।

हाल छांगरुमा १ सय १९ घरधुरी र तिंकरमा ७० घरधुरी रहेका छन् । दर्जन बढि भेडा व्यवसायी यो क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

अन्य

भिडियो