INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

२४ वर्षीया विवाहित महिलाले जनकपुरधाम उमनपा–१३ का वडा अध्यक्ष शुभनारायण मण्डलका ३० वर्षीय छोरा रोशनकुमार मण्डलले असार १२ गते बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालयमा असार १७ गते उजुरी दिँदा दर्ता नगरेको आरोप लगाउनु भएको छ ।

पीडित महिलाका अनुसार पति घर बाहिर गएको बेला आरोपित मण्डल घरमा आएर बलात्कार प्रयास गरेको र आफूले प्रतिकार गर्दा गालामा थप्पड हान्दा आफ्नो नाकबाट रगत बगेको बताउनु भयो ।

नाकबाट सामान्य रगत आएकाले स्थानिय क्लिनिकमा उपचार गरीएको भएपनि घाउ चेकजाँच नगराइएको पीडित महिलाले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

पीडित महिलाले आरोपित मण्डलले आफूलाई यसअघि समेत पटक–पटक शारीरिक सम्बन्ध राख्न र घुम्न घर बाहिर जान दबाब दिँदै आएको बताउनु भयो ।

उजुरी दिन जिल्ला प्रहरी कार्यालय धनुषामा आएका बेला इन्सेक धनुषा प्रतिनिधिलाई भेटेका पीडित महिलाका पतिले आफु घर बाहिर गएको बेला आरोपित मण्डल घरमा आएर पत्नीलाई बलात्कार प्रयास गरेको बताउनु भयो ।

पीडित महिलाका पतिका अनुसार आफू घरमा आउँदा आरोपित मण्डलले पत्नीलाई बलात्कार प्रयास गर्न खोजेको देखेपछि प्रतिकार गर्न खोज्दा आफूलाई समेत गालीलगौज गर्दै कुटपिट गरेको बताउनु भयो ।

पीडित महिलाका पतिका अनुसार पहिले प्रहरीले मुद्दा दर्ता गरि दिने आश्वासन दिएपनि पछि राजनैतिक दबाबमा आएर महिला तथा बालबालिका सेलमा पठाई मिलापत्र गर्न दबाब दिएको बताउनु भयो ।

यता, वडा अध्यक्ष मण्डलले पीडितलाई फोन गरेर तिमीहरूबाट केही हुनेवाला छैन भन्दै धम्काउँदै आएको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत महिला तथा बालबालिका सेलकी असई दीपिका ओझाका अनुसार पीडित पक्षले बलात्कार प्रयास गरेको भनेर उजुरी दिन जिल्ला प्रहरी कार्यालय धनुषामा आएको बताउनु भयो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले तत्कालै उजुरी दर्ता नभएको असई ओझाले बताउनु भयो । प्रहरीले घटनाको वास्तविकता अध्ययन गरेर पीडित पक्षले दिएको उजुरी दर्ता गर्ने असई ओझाले बताउनु भयो ।

अन्य

भिडियो