१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखियाविरुद्ध पीडितले जेठ ३२ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीले असार २ गते दर्ता गरेको छ ।
तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै उजुरी दिएपछि आरोपित मुखियालाई जेठ ३२ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाउँमा भएको पञ्चायत (छलफल) ले गर्भवती बालिकाको विवाह गाउँकै १८ वर्षीय युवकसँग वैशाख २८ गते भएको स्थानीय उग्रकान्त झाले बताउनु भयो ।
१८ वर्षीय युवकको गर्भ रहेको बताएपछि विवाह गरिदिएकोमा हाल बालिकाले आरोपित लालबहादुरको गर्भ रहेको भन्दै उजुरी दिएकी हुन् ।
पीडित बालिकाले गाउँको भेलामा पञ्चायती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाए अनुसार आफूले उतिबेला झुठा कुरा बोलेको बताएपछि अनुसन्धानका लागि उनीहरूलाई समेत गिरफ्तार गरिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार १ गते र भिडिओ एक्सरे असार २ गते गरिएको छ ।