INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले रिहा गरेको पीडितको आरोप

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार आरोपित बोदे बर्साइन नगरपालिका–८ का २८ वर्षीय सन्तोषकुमार भगतलाई प्रहरीले कारवाही नगरी रिहा गरिएको भन्दै पीडितले गुनासो गर्नु भएको छ ।

पतिसहित राजविराज आएकी पीडितले जेठ २४ गते राति शौच गर्न घरदेखि पश्चिम–दक्षिण रहेको बाँसबारी गएका बेला आरोपित र अन्य दुई जना अपरिचित व्यक्तिले बलात्कार प्रयास गरेको आरोप लगाउनु भयो ।

इलाका प्रहरी कार्यालय, कडरबोनाले जेठ २५ गते उजुरी लिन अस्वीकार गरेपछि पीडितले जेठ २७ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा धाएको बताउनु भयो ।

पीडितले जिल्ला हुलाक कार्यालयमार्फत जेठ ३० गते जिल्ला प्रहरी कार्यालयलाई उजुरी रजिष्ट्री समेत गर्नु भएको छ । पीडितको उजुरीसहित आवश्यक कारवाहीका लागि आरोपितलाई असार १ गते जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कडरबोना पठाएको थियो ।

पीडितका पतिले इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरी पूर्वाग्रही रहेकाले आरोपितलाई असार २ गते राति ९ बजे कारवाही नगरी रिहा गरेको आरोप लगाउनु भयो । थुनाबाट रिहा भएपछि असार ३ गते घर आएका आरोपितको समूहले धम्क्याएर गएको पीडितले बताउनु भयो ।

असार २ गते घटनास्थल पुगेका इन्स्पेक्टर केशरीले ५० जना पुरुषहरूको उपस्थितिमा पीडित महिलासँग घटनाका बारेमा सार्वजनिक रूपमा केरकार गरेको र आफू रहुञ्जेल उजुरी दर्ता नहुने दावी दिँदै झन् पीडा पुर्‍याएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

इन्स्पेक्टर केशरीले जिल्ला प्रहरी कार्यालयबाट घटनाको वास्तविकता छानबिन गर्न असार १ गने उजुरीसहित आरोपितलाई पठाए पछि मात्र आफूले थाहा पाएको र घटनास्थल पुगी अनुसन्धान गर्दा त्यस्तो केही नपाएको बताउनु भयो ।

दोषीलाई रिहा नहुने झैं निर्दोषलाई फसाउनु पनि हुँदैन भन्दै इन्स्पेक्टर केशरीले भन्सार छली ल्याएको अवैध समान बरामद गराई दिएको रिसमा भएको झगडालाई बलात्कार प्रयासको स्वरूप दिन खोजेकाले उजुरी दर्ता गर्न नसकिएको बताउनु भयो ।

अन्य

भिडियो