बोदे बर्साइन नगरपालिका–८ काचनकी ३५ वर्षीया प्रितीकुमारी साहलाई कथित बोक्सीको आरोप लगाई कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय लक्ष्मी साह, ४५ वर्षीय गोसाइ साह, उनको पत्नी ४४ वर्षीया कालीदेवी साह, छोरा २२ वर्षीय सन्तोष साह, भाई ४१ वर्षीय बिनोद साहविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा माघ १४ गते उजुरी दिएपनि हालसम्म दर्ता नगरेको पीडितले असार ५ गते आरोप लगाउनु भएको छ ।
पति ३८ वर्षीय पुहुपलाल साहसँग असार ५ गते राजविराज आउनु भएकी पीडित प्रितीकुमारीले कथित वोक्सीको आरोपमा कुटपिट गर्ने आरोपितहरुमाथि कारवाही नभएको भन्दै न्यायका लागि पहल गरिदिनु हुन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रह गर्नु भएको छ ।
माघ १२ गते पीडितको घर आएका आरोपितमध्ये लक्ष्मी साहले तन्त्रविद्या सखाप पार्न अभक्ष खुवाई कुटपिट गर्न आदेश गरेपछि आरोपितहरूले कुटपिट गरेको पीडितका पति पुहुपलालले बताउनु भयो । पीडितलाई गालीगलौज गरी कुटपिट गर्न थालेपछि जोगाउन जाँदा आफूलाई समेत कुटपिट गरेको पुहुपलालले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, सप्तरीको आदेशमा घाइतेको कोशी अस्पताल बिराटनगरमा माघ १४ गते घाउ जाँच स्वास्थ्य परीक्षण भयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले इलाका प्रहरी कार्यालय कडरबोनाको नाममा उजुरी दर्ताका लागि पत्राचार गरेपनि इन्स्पेक्टर रामराजा केशरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमानेको पीडितका पति पुहुपलालले जानकारी दिनु भयो । इन्स्पेक्टर केशरीले राजनीतिक प्रतिद्वन्द्विताका कारण सामान्य विवाद र झगडा भएपनि कथित बोक्सीको उजुरी लिएर आएको बताउनु भयो ।