१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डललाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा ०७६ असार १८ गते बलात्कार गरी फरार रहेका आरोपित मण्डललाई गिरफ्तार गरी थप अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो । आरोपित विद्यालयका कार्यालय सहयोगी हुन् ।
पीडितकी काकी ३५ वर्षीया महिलाको सहयोगमा मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना नखुलेको अन्दाजी ४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले असार २४ गते उजुरी दर्ता गरी बलात्कारको वातावरण बनाई दिएको आरोपमा आरोपित महिलालाई सोही दिन गिरफ्तार गर्यो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २३ गते राति स्वास्थ्य परीक्षण भयो । मुख्य आरोपित गिरफ्तार नभएको भन्दै अनुसन्धानका लागि खोजी भएको बेला उपस्थित हुने गरी जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट साउन १५ गते गिरफ्तार आरोपित पीडितकी काकी जमानतमा रिहा हुनु भएको थियो ।