INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका नौ जना कार्यकर्ता गिरफ्तार

धरान उपमहानगरपालिकामा चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नौ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

मङ्सिर ९ गते धरानको भानुचोक र धरान उपमहानगरपालिका–१५ स्थित निराजन बस्तीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

मङ्सिर १४ गतेको उपनिर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चन्दा आतङ्क मच्चाएको आरोपमा विप्लव कार्यकर्ता गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो ।

गिफ्तारीमा पर्नेमा सुवास राई, सञ्जेश राई, दीपेन्द्र राई, उदीप रसाईली, प्रवीन राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेको डिएसपी न्यौपानेले बताउनु भयो ।

गिरफ्तारीमा परेका सो पार्टीका कार्यकर्ताको साथबाट २ दशमलव ५ लिटरको प्रेसर कुकर एक थान, चन्दा सङ्कलन गरेको रसिद दुई थान, मोवाइल सेट १० थान र सिमकार्ड १२ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी १ लाख १२ हजार ५ सय रुपियाँ, डायरी एक थान र मोटरसाइकल दुई ओटा पनि बरामद गरिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो  ।

अन्य

भिडियो