INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश काफ्ले स्मृति दिवसमा इन्सेक प्रतिनिधि सम्मानित हुने

मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै इन्सेक सप्तरीका जिल्ला प्रतिनिधि राजविराज नगरपालिका-६ निवासी मनोहरकुमार पोखरेल ‘बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७६’ बाट सम्मानित हुने भएका छन् ।

Manohar Kumar Pokharel_Saptariअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा राजविराजमा हुने समारोहमा पोखरेललाई सम्मान गरिने निर्णय साउन १५ गते भएको बैद्य-प्रकाश मानव अधिकार कोषका संस्थापक बैद्यनाथ झाले बताए ।

राजविराजस्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाकक्षमा साउन १८ गते आयोजना हुने समारोहमा पोखरेललाई दोसल्ला ओढाएर पुरस्कारस्वरुप ३ हजार ५ सय ५ रुपियाँ र सम्मान-पत्र प्रदान गरिने छ ।

मानव अधिकार र सामाजिक न्यायको सुनिश्चितताका लागि तीन दशकदेखि सप्तरी जिल्लालाई कर्मथलो बनाउँदै अन्याय र उत्पीडनविरूद्ध कटिबद्ध भई मानव अधिकारका समसामयिक विषयका साथै आधारभूत तहका जनताको अधिकारका सवालमा कलम चलाउन र वकालत गर्न सक्रिय पोखरेल मानव अधिकार आन्दोलनको अभिन्न अङ्गको रूपमा स्थापित छन् ।

इन्सेक प्रतिनिधिका रुपमा तीन पटक सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कारसहित सम्मानित उनी वि.स. २०४६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै दलित, महिला, बालबालिका र उत्पीडितहरूमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै पछाडि परेका वर्गको आर्थिक, सामाजिक सुरक्षाका साथै न्याय प्राप्तिका लागि निरन्तर सङ्घर्षरत छन् ।

प्रेस स्वतन्त्रता र मानव अधिकारको लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकताको वकालत गर्दै विभिन्न राजनीतिक दल, पेशा र समुदायलाई एकताबद्ध बनाउन उनले खेलेको मध्यस्थता र नेतृत्वदायी भूमिका प्रशंसनीय छ । यस क्रममा उनले तीन महिना प्रहरी हिरासत र कारागारमा यातनासमेत भोगेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका-७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७६ बाट सम्मानित हुने पोखरेल चौथो व्यक्तित्व हुन् ।

पहिलो पटक दलित आन्दोलनका अगुवा बलदेव राम, दोस्रोपटक युक्तिलाल मरिक र तेस्रोपटक असफिर् सदालाई सम्मानित गरिएको थियो ।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पुर्‍याउनेमध्ये एक जनालाई सम्मान गरिँदै आएको छ ।

अन्य

भिडियो