INSEC Online

📅 २०८३ जेष्ठ २१

मृतक म्यादी प्रहरीका परिवारलाई ‘राहत क्षतिपुर्ति’को माग, सदरमुकाममा कर्फ्यू

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले चलाएको गोली लागेर पुस ७ गते मृत्यु भएका रास्कोट नगरपालिका-२ का विवेक ऐडीलाई राहत क्षतिपुर्ति दिनु पर्ने माग गर्दै स्थानीय र म्यादी प्रहरीले बिहानैदेखि जुलुस प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, प्रसाशन र सदरमुकाम नजिकैको कर्णाली राजमार्गमा टायर बालेर विरोध गरिरहेका कारण दिनभर सदरमुकाम तनावग्रस्त भएको छ ।

दिनभर भएको प्रहरी र आन्दोलनकारीको झडपमा दुई जना घाइते हुनुका साथै जिल्ला प्रसाशन कार्यालयको गेट समेत जलाएका छन् ।

प्रहरीको कुटाइवाट खाडाचक्र नगरपालिका-१ का २५ वर्षीय पवित्रा शाही र पार्वती शाही घाइते भएका छन् । घाइतेको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । दिनभर तनाव भएका कारणले जिल्ला प्रसाशन कार्यालयले अनिश्चित कालसम्मका कर्फ्यू आदेश जारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीले पुस ७ गते आफूले पाउने तलव र अन्य सुविधा कम भएको भन्दै आन्दोलन गरेपछि प्रहरीसँग झडप भएको थियो ।

म्यादी प्रहरीको आन्दोलनलाई दबाउन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरी म्यादी प्रहरीको भीडलाई तितरबितर पार्ने प्रयास गरे पनि म्यादीको भीडले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेपछि गोली चलाएको आन्दोलनरत म्यादी प्रहरीले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा ८ हजार रुपियाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

अन्य

भिडियो