INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यापक सहभागितामा मनोनयन दर्ता: निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मङ्सिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।

आजै साँझ इन्सेकले एक प्रतिवेदन जारी गर्दै शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता कार्यक्रम भएको जनाएको छ ।

निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए ।

नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैँमा पनि ऐतिहासिक रहेको बताउँदै उनले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरेको राससले जनाएको छ ।

निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचना अनुसार ४ सय ५० भन्दाबढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ ओटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिने कार्यक्रम छ ।

अन्य

भिडियो