INSEC Online

📅 २०८३ जेष्ठ २१

आम हडतालको तेस्रो दिन पनि बन्द र प्रदर्शन

तीन दिनदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा जारी आमहड्तालले आज पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको खबरहरू इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा तेस्रो दिन पुस ३ गते पनि आन्दोलनकारीले जिल्ला पूर्ण रूपमा ठप्प बनाए ।

बिहान ६ बजेबाट बन्द बजार पसल उद्योग र यातायात बन्द गराउँदै हिँडेका आन्दोलनकारीहरूले बिहान ९ बजे अदालत र जिल्ला  स्वास्थ्य कार्यालय बाहेक सबै सरकारी कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालय समयभन्दा अगाडि नै तालाबन्दी गरेका कारण कर्मचारी बाहिरै बस्न बाध्य भए भने सेवाग्राही सेवा लिनबाट वञ्चित भए ।

जिल्लाभित्रका सरकारी तथा निजी विद्यालयहरू पनि पूर्ण रूपमा ठप्प भए । जिल्ला भित्रका २ सय ६४ प्रावि, ५१ निमावि, ३८ मावि र ३३ उच्चमावि तथा ६ ओटा क्याम्पस बन्दको प्रभावमा परेका छन् ।

प्रावि, निमावि, मावि र उच्च माविमा अध्ययन गर्ने २१ हजार ३ सय ६४ जना बालक र २५ हजार ८ सय ३७ बालिका गरी ४७ हजार २ सय एक जना विद्यार्थी पठ्न पाठन गर्न पाउने मौलिक हकबाट वञ्चित भए ।

आन्दोलनकारीहरूबाट मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार तीन दिनदेखिको बन्द तथा हडतालका कारण जिल्लाबाट बाहिरिने यातायातका साधन र जिल्ला भित्र चल्ने साधन चल्न सकेका छैनन् । जिल्लाका व्यापारिक केन्द्र बिजुवार, बाग्दुला, भिग्री, मच्छी र खलङ्गाका पसलहरू, कलकारखाना र उद्योगहरू पूर्ण रूपमा बन्द रहेका थिए । बन्दमा प्रहरी, पत्रकारका सवारी साधन र एम्बुलेन्स भने सञ्चालनमा आएका थिए ।

बिजुवार र खलङ्गामा पुस ३ गते दिउँसो ३ बजे संयुक्त रूपमा राजनीतिक दलहरू र सर्वसाधारणहरूले विरोध र्‍याली बिजुवारको जुम्रीबाट निकाली मित्रमणी चोकमा पुगी कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ शान्ता केसीले सरकारले शान्तिपूर्ण आन्दोलनलाई बेवस्ता गरेर प्रदेश टुक्र्याउने काम गरेमा प्यूठानी जनताले त्यसको डटेर सामाना गर्ने बताइन् ।

सो कार्यक्रमलाई माओवादी क्रान्तिकारीका जिल्ला इञ्चार्ज पूर्णविक्रम नेपाली, एमालेका अध्यक्ष तेल्सीराम शर्मा, माओवादी केन्द्रका प्रकाश अधिकारी, नेपाली काङ्ग्रेसका अध्यक्ष अमर भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

तीन दिनको आम हडताल शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार पाल्पामा पुस १ गतेदेखि जारी आमहड्ताल पुस ३ गते दिउँसो १ बजेबाटै फिर्ता भएको छ । संयुक्त सङ्घर्ष समितिले बन्द कार्यक्रम फिर्ता भएपनि अन्य प्रदर्शनका कार्यक्रमहरू भने जारी रहने जनाएको छ ।

आमहड्ताल फिर्ता भएपछि जनजीवन सामान्य भएको छ । सवारी साधन चल्न सुरु गरेका छन् । बजार तथा कलकारखाना पनि खुलेका छन् ।

संविधान संशोधन प्रस्तावमार्फत प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लाहरूलाई प्रदेश नं. ४ मा गाभ्न खोजेर तराई र पहाडलाई अलग्याउन खोजिएको भन्दै मङ्सिर १५ गतेदेखि संयुक्त सङ्घर्ष समिति पाल्पाको आयोजनामा पाल्पामा चरणबद्ध आन्दोलन हुँदै आएको छ ।

तानसेनमा आयोजित कोणसभामा बोल्दै पूर्व उद्योग मन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेयले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म निरन्तर सङ्घर्ष गरिने बताए । उनले संसद र सडक दुबैतिरबाट दबाव आवश्यक रहेको बताए ।

सो अवसरमा नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर राना, नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य, राप्रपाका अध्यक्ष डुँलबहादुर कुँवर, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, नेकपा मालेका अध्यक्ष धनराज पौडेललगायतले सरकारको उक्त प्रस्तावको विरुद्ध निरन्तर सङ्घर्ष गर्ने धारणा राखे ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार संसदमा दर्ता संविधान संशोधन प्रस्तावको विरोधमा रोल्पा, प्यूठान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको चार दिने बन्द पुस ३ गते साँझ ५ बजेपछि खुलेको छ ।

संयुक्त सङ्घर्ष समितिले मङ्सिर ३० गतेदेखिको बन्द खुलेपछि जनजीवन सहज बन्दै आएको छ । जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन, बजार, पसल, होटल, उद्योग कलकारखानासमेत सञ्चालनमा आएका छन् । तेस्रो चरणको बन्दको कार्यक्रम सकिएको भएपनि चरणबद्ध विरोधका कार्यक्रमहरू भने जारी रहेको रोल्पा, प्यूठान संयुक्त सङ्घर्ष समितिका संयोजक एवम् सांसद् अमरसिंङ पुनले बताए ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार आम हड्तालको तेस्रो दिन पनि आन्दोलनकारीले जिल्ला प्रशासन सहित सदरमुकामका दुई दर्जन सरकारी कार्यालयमा ताला लगाएका छन् ।

बिहानै लाँकुरीमञ्चमा भेला भएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा ताला लगाएर दिनभर प्रजिअ कृष्णप्रसाद ढुङ्गानासहितका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

जिल्ला अस्पताल, अदालत र जिल्ला आयुर्वेद कार्यालयबाहेक सेवाग्राहीको बढी काम र चाप हुने जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला मालपोत कार्यालयलगायतका कार्यालयमा तीन दिन देखि ताला लगाएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए ।

मङ्सिर १४ गतेबाट जारी जिल्ला बन्दले दैनिक जनजीवन निकै कष्टपूर्ण बनेको छ । आन्दोलनको १९ औँ दिन आज पनि जिल्ला प्रशासन कार्यालय अगाडि विरोधसभा गरिएको छ । सभालाई संबोधन गर्दै नेकपा मालेकी सांसद कमला विकले जिल्लाका सबै कार्यालय ठप्प हुँदा, घाइते हुँदा र १९ दिन मान्छेको दैनिकी कष्टकर हुँदा पनि सरकारले अझै पनि संशोधन प्रस्ताव फिर्ता नलिनु दुखद भएको बताइन् ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार संविधान संशोधन प्रस्तावको विरोधमा गरिएको आम हड्तालको तेस्रो दिन यस क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ ।

संयुक्त सङ्घर्ष समितिले गरेको आम हडतालका कारण पुस ३ गते पनि दिनभर यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधनहरू (रिक्सा समेत) चल्न सकेनन् । बन्दकर्ताले रिक्साका समेत हावा निकालिदिएका थिए ।

बन्दकर्ताहरूले बिहानैदेखि रुपन्देहीका मुख्य बजारहरू मिलनचोक, राजमार्ग चौराहा, योगीकुटी, गोलपार्क, अस्पताल लाइन, मणिग्राम, भैरहवाको देवकोटा चोक, बुद्धचोक, मिलनचोक, सालझण्डी, खैरेनीलगायतका स्थानहरूमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । बन्दका कारण यस क्षेत्रका उद्योग धन्दा, कलकारखाना, औषधि पसल, शैक्षिक संस्थाहरू र बजार पूर्ण रूपमा बन्द रहे ।

बन्दकर्ताले एम्बुलेन्स, विवाह, सञ्चार, शव वाहन, मानव अधिकारकर्मीका सवारी साधनहरूलाई भने चेकजाँच गरेर चल्न दिएका थिए ।

बन्दका कारण कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

एम्बुलेन्स चालकद्वारा एक घण्टा सेवा ठप्प

बुटवलमा प्रदर्शनकारीहरूले विरामी बोकेको एम्बुलेन्स तोडफोड गरेर क्षति पुर्‍याएको विरोधमा एम्बुलेन्स चालकहरू विरोधमा उत्रेका छन् । १२ बजेदेखि १ बजेसम्म एम्बुलेन्स चालकहरूले १ घण्टा सेवा बन्द गरेका हुन् । विरामी बोकेर आउने क्रममा भएको तोडफोडको विरोधमा साङ्केतिक रूपमा विरोध गरिएको एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष यदुनाथ भण्डारीले बताए ।

बन्दको दोस्रो दिन साँझ दिपनगरका बिरामी भैरहवा एयरपोर्टबाट बुटवलतर्फ ल्याउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा लु १ च २१३१ नं को एम्बुलेन्समाथि प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए ।

एम्बुलेन्स चालक ज्ञानबहादुर भट्टचनले ‘गाडीमा बिरामी छ भन्दा भन्दै कसैले केही नगर भने कोहीले ठोकठोक’ भनेर सिसा फुटाइदिएको बताए । गाडी केही कुच्चिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

अन्य

भिडियो