INSEC Online

📅 २०८३ असार ११

तानसेनलाई मानव साङ्लोले घेरियो, पाल्पा बन्द कार्यक्रम फिर्ता

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जारी आन्दोलन अन्तर्गत मङ्सिर २५ गते तानसेनमा मानव साङ्लो प्रदर्शन गरिएको छ । मानव साङ्लोले एक घण्टा तानसेन बजारलाई घेरेको थियो ।

दश हजार भन्दा बढी नागरिकले तानसेनमा मानव साङ्लो प्रदर्शन गरेको आयोजकले जनाएको छ । मानव साङ्लो प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य, नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर राना, राप्रपाका अध्यक्ष डुँलबहादुर कुँवर, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीलगायतले बोल्दै सरकारले संविधान संशोधनमार्फत पहाड र तराईलाई टुक्र्याउन लागेको भन्दै कुनै हालतमा यो निर्णयमान्य नहुने बताए ।

यसैबिच समितिले पाल्पा बन्दका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले मङ्सिर २६ गतेबाट बन्द हड्तालका कार्यक्रम नहुने र सङ्घर्षका अन्य कार्यक्रम भने जारी रहने बताए । संयुक्त सङ्घर्ष समितिले लामो बन्दका कारण जनतालाई सास्ती भएको भन्दै विरोधका कार्यक्रमलाई यथावत राख्दै तत्कालका लागि बन्द फिर्ता लिने र आन्दोलनको स्वरुप बदल्ने निर्णय गरेको जनाएको छ ।

केही दिनदेखि खुकुलो बनाइएको अर्घाखाँचीमा भने पुनः बन्दका कार्यक्रमको घोषणा गरिएको छ । आन्दोलनलाई कडा रूपमा प्रस्तुत नगर्दासम्म सरकारले मागको सुनुवाई नगरेको भन्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको अर्घाखाँची प्रतिनिधि नारायण भुसालले बताएका छन् ।

अन्य

भिडियो