नौगाड गाउँपालिका–२ घर भएका पदमराम टमटाले कारागारमा कैदी जीवन बिताएको ६ वर्ष भयो । कैदी जीवन शुरू भएसँगै उनले कारागार भित्रै व्यवसाय सुरू गरे ।
दिनभर त्यतिकै बसेर समय बेतित् गर्नुभन्दा केही काम गरौँ भन्ने लागेपछि उनले स्वेटर बुन्न थाले । तर, अहिले त्यहि स्वेटरले राम्रो आम्दानी दिन थालेको छ ।
तिब्बतीयन उन मगाएर उनले स्वेटर बुनेर विक्री गर्ने गरेका छन् । भारतीय बजारबाट तिब्बतीयन उन मगाएर स्वेटर बुनेर विक्री गरेको रकमले घरायसी खर्च टार्ने गरेको कैदी टमटाले बताए ।
घरको लागि चाहिने साबुन तेललगायतका सामग्री स्वेटर विक्री गरेरै गर्जो टार्ने गरेको टमटाले बताए । उनका अनुसार सिजनमा स्वेटर विक्रीबाट मासिक ८ देखि १० हजार रुपियाँ आम्दानी हुने गरेको छ ।
उनले बजारमा पाइने मेसिनले बुनेको स्वेटर भन्दा पनि राम्रो स्वेटर बुन्ने गरेका छन् । तिब्बतीयन कालो स्वेटर ३ हजार रुपियाँदेखि ४ हजार ५ सय रुपियाँमा विक्री हुने गरेको छ ।
‘पुरुषको लागि बनाएका हाप स्वेटर २ हजार रुपियाँदेखि २ हजार ५ सय रुपियाँमा विक्री गर्छु ।’–उनले भने ।
नौगाड गाउँपालिका–६ कै आनसिंह ठगुन्ना कारागार भित्रै सिलाई व्यवसाय गर्छन् । २० वर्ष अघिबाट उनले गाउँमै सिलाई व्यवसाय गर्दै आएका थिए । साढे चार वर्ष भयो कारागारमा बसेको । उनले यस अवधिमा कारागारमै मेशिन मगाएर सिलाई व्यवसाय चलाएका छन् ।
‘गाउँमा चिनेकाहरू तथा खलङ्गा बजारकै साथीहरूले कपडा सिलाउन ल्याउँछन् ।’–ठगुन्नाले भने–‘ सिकेको सीपको सदुपयोग गर्नै प¥यो ।
गाउँलेका कपडादेखि प्रहरीका पोशाकसम्म उनले कारागारमै बसेर सिलाउने गरेका छन् । कारागार भित्रै सानो त्रिपालभित्र उनको सिलाई व्यवसाय छ । एक मेशिन, एक पिको मेशिन र टेबुलमा आइरन छ । बजारमा सिलाइने कपडा र भित्र सिलाइएको कपडामा केही फरक छैन ।
‘पाइन्ट र कमिज सिलाएको ६ सय रुपियाँ, प्रहरी पोशाक ७ सय रुपियाँ तथा विद्यालयका पोशाक ५ सय रुपियाँमा सिलाउने गरेको छु ।’–ठगुन्नाले भने–‘अहिलेसम्म मासिक १० हजार रुपियाँसम्म कमाउँछु । खाली समयमा सिकेको सीप प्रयोग गर्छु ।’
ठूलो परिवार भएका कारण कारागारमा कमाएको पैसा घरायसी खर्चमा पठाइदिने गरेको उनले बताए । ‘ सात जना छोराछोरी छन् । दुई जना छोराले विवाह गरे । अरूको विवाह गर्न बाँकी छ । ठूलो परिवारको लागि नुन, तेल र साबुन किन्नका लागि मात्रै भएपनि खर्च पठाउँछु ।’–उनले भने ।
व्यास गाउँपालिका–२ का प्रेमसिंह बुढाथोकी सबै किसिमका स्वेटरहरू बुन्ने गरेको सुनाउँछन् । दिनभर फुर्सद छ । ‘त्यतिकै बस्नुभन्दा स्वेटर बुनेरै समय बिताउने गर्छु ।’–उनले भने–‘बाहिरबाट धागो ल्याएर स्वेटर बुन्ने गरेका छौँ । ६/७ हजार रुपियाँ कमाई हुन्छ ।’
अझै धेरैलाई हामीले बुनेका स्वेटरको बारेमा जानकारी नहुँदा समयमै विक्री नहुने गरेको उनको भनाई छ । जिल्ला कारागार दार्चुलामा रहेका ३३ जना कैदी र सात जना बन्दीमध्ये २२ जनाले स्वेटर बुन्ने गरेका छन् ।
कारागारमा दिनभर बस्दा फुर्सद हुने भएकाले बाहिरबाट धागो मगाएर स्वेटर बुन्ने काममा कैदीहरू व्यस्त रहने गरेको जेलर मानबहादुर खडायतले बताए ।
कैदीबन्दीले अहिलेसम्म हातले मात्रै स्वेटर बुन्दै आएका छन् । मेशिन ल्याउन सकिएको छैन् । कसैले मेशिन र थप तालिम सहयोग गरे सबै कैदीबन्दीलाई सीप सिक्न सजिलो हुने जीवन ठगुन्ना बताउँछन् ।
गत वर्षसम्म घरेलु तथा साना उद्योगलगायतको सहयोगमा स्वेटर सिलाईबुनाई तालिम दिइएको जेलर खडायतले बताए ।
‘यस वर्ष पनि कारागार विभागले कैदीबन्दीको सीपको लागि ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।’–उनले भने–‘के कार्यक्रम गर्ने भन्ने छुट्याएको छैन ।’
‘विभागले नै कार्यक्रमको शीर्षक बनाएर दिने भएका कारण कुन तालिम दिने भन्ने एकिन भएको छैन ।’–उनले भने ।