INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटेर देश निकाला गर्ने धम्की दिएको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी

रुपनी गाउँपालिका–१ का ३० वर्षीय राजु जयसवाललाई रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष ३० वर्षीय पिताम्बर यादवले कुटेर देश निकाला गर्ने धम्की दिएको भन्दै पीडितले शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा असोज २२ गते उजुरी दिएका छन् ।

वडा अध्यक्ष यादवको धम्कीबाट घरपरिवार आतङ्कित बनेको भन्दै पीडितले शान्ति सुरक्षाका साथै आवश्यक कारवाहीका लागि अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेटेर उजुरी दिएका हुन् ।

आरोपितले फोन गरी दिएको धम्कीको सम्वाद रेकर्ड समेत पीडितले प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टलाई सुनाएको बताए ।

आरोपितले ९८१९७२५०७८ नम्बरको मोबाइल फोनबाट असोज २१ गते राति फोन गरी आफ्नो विरोधमा बोले, लेखे पीडितको घर पसेर जे पनि गर्न सक्छु भन्दै अबदेखि आफ्नो विरोधमा नबोल्न, नलेख्न चेतावनी दिएको पीडितले बताए ।

फोन सम्वादमा आरोपितले अपशब्द बोल्दै ‘अख्तियार त थाकिसक्यो, अब तिमीले फेसबुकमा दैनिक लेखे पनि आफ्नो केही नबिग्रने तर आफ्नो दिमाग घुमे कुट्दा–कुटदा गाउँ त के जिल्ला र देशमै बस्न नसक्ने स्थिति बनाई दिन्छु ।’ भनेर धम्की दिएका छन् ।

गाउँपालिकामा भ्रष्टाचार भइरहेको भन्दै पीडितसहितका गाउँलेहरूले तीन महिनादेखि भ्रष्टाचार विरूद्धको अभियान सञ्चालन गरिरहेका छन् ।

अन्य

भिडियो