राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले पीडितकी काका ससुरा नाताका राजविराज नपा–११ का ४० वर्षीय सोहन ठाकुरलाई असोज १८ गते गिरफ्तार गरेको छ ।
प्रहरीले पीडितकी सासू ४५ वर्षीया रजियादेवी ठाकुर र जेठाजु २४ वर्षीय अशोक ठाकुरलाई असोज १६ गते गिरफ्रतार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरूद्ध असोज १६ गते ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरेकाले गिरफ्तार गरिएको एसपी राजेन्द्र विष्टले बताए ।
आरोपितहरूमध्ये पीडितका २३ वर्षीय पति मनोज ठाकुर र उनका बुवा ५० वर्षीय भुवनेश्वर ठाकुर फरार रहेकाले खोजी कार्य भइरहेको एसपी विष्टले बताए ।
आरोपितहरूले असोज ११ गते चरित्रहीनको आरोप लगाउँदै कपाल लुछेर लाठी र मुक्काले कुटपिट गर्दा पीडितको शरीरभरी चोटपटक र निलडाम लागेर गम्भीर घाइते भएकी छिन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ । उनको असोज १५ गते सोही अस्पतालमा घाउजाँच परीक्षण गरिएको छ ।
सामाजिक परम्परअनुसार ०७४ वैशाख ३ गते विवाहिता पीडितले विवाह दर्ता र नागरिकता बनाइदिन भन्दा आरोपितहरूले मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते पीडितलाई उनका बुवा रूपनी गाउँपालिका–१ रायपुरका ३८ वर्षीय मोहन ठाकुरले असोज १२ गते उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।