INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार प्रवर्धनका लागि कारागारमा इन्सेक, प्रदेश एक सरकार र सिस्नुपानीको संयुक्त कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ), प्रदेश १ सरकार र सिस्नुपानी नेपालको संयुक्त आयोजनामा विराटनगरस्थित जिल्ला कारागार मोरङमा असोज १३ गते र झापाको भद्रपुर कारागारमा असोज १४ गते मानव अधिकार प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ ।

कैदीबन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्र पाउनुपर्ने सुविधा, निभाउनुपर्ने कर्तव्य र कारागारबाट निस्किएपछि समाजमा सजिलै स्थापित हुन मद्दत पुगोस भनेर हास्यब्यङग्यमार्फत उत्प्रेरणा कार्यक्रम ल्याएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कैदीबन्दीहरूको कारागार जीवनलाई सहज पार्न भौतिक पूर्वाधारलगायत अरू विषयमा प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउने बताए ।

मोरङ कारागारमा २ सय ५० जना कैदीबन्दी क्षमताको भएपनि हाल पुरुष ७ सय ४९ जना र महिला ४९ गरी ७ सय ९८ जना बस्नु पर्ने अवस्थालाई तत्काल सम्बोधन गर्ने बताए ।

जीवनको कुनै क्षणमा आवेग र दुस्मनीका कारण कारागारमा बस्न बाध्य भएपनि बन्दी जीवनपछि उनीहरूलाई सजिलै समाजमा स्थापित हुने वातारण प्रदेश सरकारले बनाउने बताए ।

इन्सेक प्रदेश १, कार्यालय विराटनगरका संयोजक सोमराज थापाले अपराध गरेर वा भवितब्य परेर ंजेल जीवन बिताउँदै आएका कैदीबन्दीले यसलाई उर्जाको रूपमा सदुपयोग गर्नुपर्ने बताए ।

बन्दी भएको समयमा विभिन्न ज्ञानगुनका कुरा पढ्ने, सीप सिक्दै सकारात्मक उर्जाको विकास गर्नुपर्ने बताए । यस अभियान अन्तर्गत मोरङ, झापा, सुनसरी र उदयपुरको कारागारमा कार्यक्रम गरिने सिस्नुपानी नेपालका उपाध्यक्ष मनोज गजुरेलले बताए ।

कार्यक्रममा लक्ष्मण गाम्नागे, मनोज गजुरेल, गायक शिशिर योगीले हास्यब्ङग्य तथा गीत प्रस्तुत गरी कैदीबन्दीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

मानव अधिकार प्रवर्धन कार्यक्रम असोज १५ गते सुनसरीको झुम्का कारागार र १६ गते उदयपुर जिल्ला कारागारमा हुने जनाइएको छ ।

अन्य

भिडियो