प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएलगत्तै त्यसको विरोधमा असोज १० गतेदेखि धनगढी बजार अनिश्चितकालका लागि बन्द गरिएपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
स्थायी राजधानी धनगढी हुनु पर्ने माग गर्दै नागरिक समाजले अनिश्चितकालका गरेको धनगढी बजार बन्दका कारण धनगढीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेपछि यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् भने शैक्षिक संस्था, उद्योग तथा कलकारखाना र व्यापार व्यवसाय ठप्प पारिएको छ ।
राजधानी र नामाकरणका लागि गठित विशेष संसदीय समितिले स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव असोज ९ गते पेश गरेपछि उक्त प्रस्तावमा असन्तुष्ट नागरिक समाज र धनगढीबासी आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकारीले अस्थायी राजधानीका लागि धनगढीमा करोडौँ रुपियाँ खर्च भइसकेको बताउँदै जङ्गल मासेर गोदावरीमा राजधानी नबनाउन दबाबस्वरूप आन्दोलन गर्नुपरेको बताएका छन् ।
विरोध कार्यक्रममा नागरिक समाजका अध्यक्ष हरि रेग्मीले ‘भूमाफिया र वनमाफिया’को खेलमा परेर प्रदेश सरकारले राजधानी गोदावरीको तेघरीमा राख्न खोजेको आरोप लगाए । उनले गोदवरीमा रहेको घना तथा बहुमुल्य वनजङ्गल विनाश गर्ने खेलमा राजधानी सार्ने प्रयास भइरहेको बताए ।
आन्दोलनमा उत्रिएका धनगढी उपमहनगरपालिकाका मेयर नृपबहादुर वडले प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना धनगढीमा निर्माण भइसकेको र अरू सबै सुविधाका दृष्टिकोणबाट धनगढी नै उपयुक्त भएको बताए ।
