१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भरतपुर महानगरपालिका–११ का १९ वर्षीय प्रविण गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ७ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ‘विहे गर्छु’ भनी भदौ ३ गतेदेखि भगाइ लगेको र विहे नगरेको भन्दै पीडितले ७ गते उजुरी दिएकी हुन् । विवाह गर्नका लागि दुवैको उमेर कानुनी रूपमा पुगेको छैन । कानुन अनुसार विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुग्नु अनिवार्य छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले उमेरका कारण विवाह असम्भव भएपछि केटी पक्षले प्रहरीमा आरोपितविरूद्ध बलात्कारसम्बन्धी उजुरी दिएको बताए । आरोपित फरार रहेकाले खोजी कार्य सुरू गरिएको प्रहरीले जनायो ।