INSEC Online

📅 २०८३ जेष्ठ २१

यातायात बन्दले जनजिवन कष्टकर

सवारी ऐनको विरोधमा यातायात मजदुरले चार दिनदेखि सार्वजनिक आवागमन ठप्प पारेपछि जनजीवन कष्टकर बनेको छ ।

अनिश्चितकालिन बन्दका कारण यात्रुबाहक बस, माइक्रो, मालवाहक ट्रकले सेवा दिन बन्द गरेपछि यात्रु आवागमनदेखी ढुवानी सेवा समेत ठप्प भई सर्वसाधारण मारमा परेका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको परिक्षामा सहभागी हुने परिक्षार्थीहरु समेत समस्यामा परेको जनकपुरबाट परिक्षा दिन मोटरसाइकलमा आएका दिप यादवले बताए ।

‘चालक विरोधी’ ऐनको विरोधमा नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठनले असोज ४ गते राजविराजमा विरोध प्रदर्शन गरेको छ । जारी ऐन त्रुटीपूर्ण भएकोले सो नसच्याएसम्म सार्वजनिक आवागमन ठप्प पार्ने कार्य जारी रहने सङ्गठनका नगर कमिटी अध्यक्ष भोलाप्रसाद यादवले बताए ।

मजदुरहरूको यातायात बन्दले ढुवानी सेवा ठप्प भएपछि बजारमा उपभोग्य सामग्रीको मुल्य आकाशिएको छ भने ग्रामीण क्षेत्रबाट उपचारका लागि सदरमुकाम आउने बिरामी र उनका आफन्त थप समस्यामा परेका छन् ।

एम्बुलेन्सको चर्को भाडाका कारण विपन्न समुदायका बिरामीलाई समस्या परेको रुपनी गाउँपालिका–२ का राजिवकुमार यादवले दुःखेसो पोखे । उनले चर्को भाडा तिरेर सिटी रिक्सा रिजर्भ गरी आमा शकुन्तलादेवी यादवलाई असोज ४ गते उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको बताए । फाटफुट रूपमा चल्ने सिटी रिक्सा, ग्रामीण क्षेत्रको खराब बाटोमा पुग्न नसक्ने र पुगेपनि चर्को भाडा माग्ने गरेको उपभोक्ताको गुनासो छ ।

यातायात नचल्दाको मौका छोपी काठमाडौँ–राजविराज रूटमा उडान भर्ने श्री एयरलायन्सले पनि भाडामा अत्याधिक बृद्धि गरी यात्रुलाई मारमा पारेको स्थानीयको आरोप छ । ३ हजार ७ सय रुपियाँ न्यूनतम भाडा राखेको सो एयरलायन्सले हाल ५ हजार १ सयदेखि ६ हजार २  सय रुपियाँसम्म भाडा कायम गरेकोे विष्णुपुर गाउँपालिका–६ का दिनेश यादवले आरोप लगाए ।

चालकहरू आन्दोलनमा उत्रिएकाले सवारी साधनहरू ग्यारेजमै थन्क्याएर राख्नु परेको भन्दै यातायात व्यावसायी जागेश्वर यादवले सवारी साधन थन्क्याउनु पर्दा व्यावसायीहरू मारमा परेको बताए । वार्ताको माध्यमबाट समस्या समाधान गरी अबिलम्ब सार्वजनिक आवागमन सुचारू गर्नुपर्ने तथा बन्द बाहेकको विकल्प अपनाउनु पर्ने स्थानीयवासीको माग छ ।

अन्य

भिडियो