संविधान जारी भएको असोज ३ गतेलाई नेपाल कम्युनिष्ट पार्टी सप्तरीले राष्ट्रिय दिवसको रूपमा हर्षोल्लासका साथ मनाएको छ भने राजपा नेपालले ‘कालो दिवस’को रूपमा मनाएको छ ।
सुरक्षा निकाय र विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थितिमा सिडिओ बङ्गलामा बिहान कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइयो । सोही बेलामा राजपाका कार्यकर्ताहरूले स्थानीय तहलगायत विभिन्न कार्यालयहरूमा कालो झण्डा झुण्ड्याए । कार्यालयहरूमा झुण्ड्याइको कालो झण्डालाई प्रदर्शनकारीहरू गएलगत्तै हटाइएको छ ।
नेकपा सप्तरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका बिरामीहरुलाई दिउँसो फलफुल वितरण गरेको छ भने पार्टी कार्यालयमा अन्तरक्रिया गरेको छ । नेकपाले फलफूल वितरण गरिरहेकै बेला करिब १ सय मिटर दुरीमा रहेको सहिद दशन चोकमा राजपाले ‘कालो दिवस’ मनाउँदै कोणसभा गरेको छ ।
संविधान जारी हुँदादेखि नै असन्तुष्टि जनाउँदै आएको राजपाले २ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा ‘कालो दिवस’ मनाएको हो । सोनलको नेतृत्वमा नगर परिक्रमा गरेको जुलुसले दशन चोकमा रहेको कार्ल माक्र्सको बोर्ड हटाउँदै कालो झण्डा गाडेर कोण सभा गरेको छ ।
संविधान घोेषणादेखि नै अपनत्व ग्रहण नगरेको राजपाले विभिन्न स्थानीय तहमा कालो झण्डासहित जुलुस र सभा गरेको छ । सरकारीस्तरबाट साँझ दिपावली मनाइएको छ भने राजपाले साँँझ सात बजेदेखि साढे सात बजेसम्म ‘ब्ल्याक आउट’ गरेको छ ।
असोज २ गते राजविराज आएका पार्टी अध्यक्ष उपेन्द्र यादवले कालो दिवस नमनाउन दिएको निर्देशन विपरीत सङ्घीय समाजवादी फोरम नेपालले वलान बिहुल गाउँपालिकामा कालो दिवस मनाएको छ ।
मल्हनियामा निकालिएको र्याली र विरोधसभालाई फोरमबाट निर्वाचित गाउँपालिका अध्यक्ष दयानन्द गोइतलगायतले सम्बोधन गरे ।
अध्यक्ष यादवको निर्देशनलाई चुनौती दिँदै पार्टीकी केन्द्रिय उपाध्यक्ष रेणुकुमारी यादवले विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म आफूहरूले असोज ३ गतेलाई कालो दिनकै रूपमा मनाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा कालोपट्टी र कालो झण्डासहित आफ्नो फोटो राख्दै लेखेकी छिन् ‘विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म असोज ३ लाई कालो दिनको रूपमा मनाउने ।’
रेणुका छोरा तथा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य अभिषेककुमार यादवले पनि फेसबुकमा असोज ३ लाई कालो दिनकै रूपमा मनाउने उल्लेख गरेका छन् । पार्टीका अन्य कतिपय नेताहरूलेसमेत फेसबुकमा कालो झण्डासहित कालो दिन भनेर लेखेका छन् ।
फोरम नेपालको तराई मधेश प्रादेशिक समितिकी अध्यक्ष समेत रहेकी पार्टी उपाध्यक्ष यादवको अध्यक्षतामा बसेको प्रादेशिक कार्य सम्पादन समितिको बैठकले असोज ३ लाई कालो दिनको रूपमा मनाउने निर्णय गर्दै कार्यक्रमहरू सार्वजनिक गरेको थियो । तर, अध्यक्ष यादवले कालो दिन नमनाउन निर्देशन दिएपछि घोषित कार्यक्रमहरू भने भएन ।
