यही साउन १ गतेदेखि लागू भएको श्रम ऐन र न्यूनतम् पारिश्रमिक कार्यान्वयनको माग गर्दै धनकुटाका चिया मजदुर आन्दोलित भएका छन् ।
श्रम ऐन–२०७४ कार्यान्वयनको माग गर्दै भदौ १८ गते चिया उद्योगमा धर्ना दिएको र सरकारी पारिश्रमिक लागू गर्न चिया उद्योगीहरूलाई एक साताको समय दिइएको अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष नारायण तामाङले बताए ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको पारिश्रमिक बढाएर २ सय ४३ रुपियाँ देखि ३ सय ८५ रुपियाँ कायम गरेपनि त्यसको कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्नु परेको उपाध्यक्ष तामाङको भनाई छ ।
नेपाल चिया बगान श्रमिक सङ्घ, कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घको अगुवाईमा धनकुटाका बगानमा कार्यरत ६ सय ५० जना भन्दा बढी श्रमिकहरूले गुराँसे टि–स्टेट, जुन चियाबारी तथा नारायणी चिया उद्योगमा कालोझण्डा र ब्यानर राखी धर्ना दिँदै नयाँ पारिश्रमिक लागू गर्न एक साताको समय दिएका हुन् ।