बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा भदौ १४ गते जनकपुरमा मैनबत्ती प्रज्वलन तथा हस्ताक्षर संकलन गरी बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ओरेक, कोक्याप, एमनेष्टी इन्टरनेशनल, थर्ड एलायन्स, एडभोकेसी फोरम नेपाललगायतले संयुक्त रूपमा जानकी मन्दिर परिसरमा मैनबत्ती प्रज्वलन र हस्ताक्षर सङ्कलन गरेका हुन् ।
बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन, बेपत्ता नागरिकको अवस्था सार्वजनिक, कानुन परिमार्जन, आत्मसम्मानसहितको परिपुरणको अधिकार र आयोगहरूको पुनर्गठन सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले कार्यक्रम गरिएको आयोजकहरूले बताए ।
सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरू भएको यो दिवस मनाउने क्रम अहिले विश्वव्यापी बनेको छ ।
दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र विद्रोहीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको छ । ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता आज १२ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन ।
शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरूको अवस्था पत्ता नलाग्दा बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरू आउने आशामा पर्खिरहेका छन् ।