स्थानीय तहले बजार अनुगमन निर्देशिका नबनाउँदा जिल्ला सदरमुकाम तानसेन सहित आसपासका ग्रामीण बजारहरूमा एक वर्षदेखि बजार अनुगमन हुन सकेको छैन । अनुगमन नहुदाँ उपभोक्ताहरू अखाद्य वस्तु उपभोग गर्न बाध्य भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार स्थानीय तहलाई सुम्पिएपछि जिल्लामा बजार अनुगमन ठप्प भएको हो । स्थानीय तहले कार्यविधि तयर गरी निर्देशिका बनाएर काम सुचारू गर्नुपर्नेमा निर्देशिका तयार गर्न नसक्दा जिल्लाका बजार, होटल, मेडिकलहरूमा अनुगमन हुन सकेको छैन ।
बजार अनुगमन नहुँदा जिल्लाका सर्वसाधारण नागरिक महङ्गो मुल्यमा सामान किन्न बाध्य भएका छन् । बजारमा कुनैपनि वस्तुको दर रेटमा एकरूपता नभएको मानव अधिकार सरोकार केन्द्र पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले बताए ।
अनुगमन अभावमा तानसेन र अन्य व्यापारिक क्षेत्रका मासु व्यवसायीले अस्वस्थ तथा उपभोगका लागि अयोग्य मासु खुल्ला रूपमा विक्री गर्दा समेत अधिकार प्राप्त निकाय मौन बसेको सर्वसाधारणको गुनासो छ । होटल तथा रेष्टुराँहरूमा विक्रीका लागि राखिएका खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट बढेको छ । त्यसैगरी होटल व्यवसायीले बासी सडेगलेका खाद्यवस्तु विक्री गरी रहेका छन् ।
विगतमा वाणिज्य कार्यालयको आयोजनामा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको व्यवस्थापनमा नियमित रूपमा मूख्य बजार, होटल तथा रेष्टुराहरूमा अनुगमन हुने भएपनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनुगमन कार्य हुन सकेको छैन ।
बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको बिक्री गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी स्थानीय तहमा गए पछि झन् काम प्रभावकारी हुनपर्नेमा काम ठप्प भएको पाण्डेले बताए ।
जिल्ला भित्रका मुख्य राजमार्ग तथा सडक किनारका होटलहरूमा खाद्य वस्तु मापदण्ड अनुरूप नभएको बासी सडेका वस्तु विक्री भइरहेको माथागढी गाउँपालिका देउगिरका विवेक गाहाले बताए । नियमित रूपमा बजार अनुगमन नहुँदा होटल व्यवसायीको मनोमानी बढ्दै गएको तानसेन भगवती टोलका मनोजकुमार केसीले बताए ।
पाल्पाका कुनै पनि स्थानीय तहले प्रभावकारी बजार अनुगमन गरेका छैनन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले ४ महिना अघि मासु पसलहरूको अनुगमन गरिएपनि समग्र बजार अनुगमन हुन नसकेको र केही दिनमा अनुगमन सुरू गर्ने बताए । उनले स्थानीय तहलाई जिम्मेवार र अधिकार दिए पनि आवश्यक र विशेषज्ञ कर्मचारी नभएकै कारण बजार अनुगमन हुन नसकेको बताए ।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौड्यालले भने बजार अनुगमनको छुट्टै कार्यविधि बनाएर छिट्टै नै बजार अनुगमन गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले अनुगमन संयोजकको रूपमा रहने सहायक प्रमुख जिल्ला अधिकारी आउने जाने भइरहेकाले खास बजार अनुगमन हुन नसकेको बताउदै केही दिनमै अनुगमन सुरू गर्ने बताए ।