बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कडा कारबाहीको माग राख्दै साउन १३ गते पीडित पक्षले महेन्द्रनगरमा प्रर्दशन गरेको छ ।
घटनाको अनुसन्धान तथा छानबिन गरिनु पर्ने, दोषीलाई कडा कारबाही हुनुपर्ने, घटनास्थल रहेको ठाउँमा अस्थायी प्रहरी विट राखिनुपर्नेलगायतका माग राख्दै बजारमा, जिल्ला प्रहरी कार्यालयको गेट र अञ्चल असपताल अगाडि प्रदर्शन गरिएको हो ।
शवको पोष्टर्माटम असार ११ गते भएपनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । मृतकका आफन्तहरूले घटनाका दोषीलाई सार्वजनिक नगर्दा र पीडित परिवारलाई न्याय नदिलाउञ्जेलसम्म शव नबुझ्ने भन्दै शव बुझेका छैनन् । मृतक निर्मलाको शव पोष्टर्माटमपछि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
नागरिक समाज, कञ्चनपुरले निर्मला हत्याकाण्ड घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्न माग सहित प्रमुख जिल्ला अधिकारी कुमार खडकाको ध्यानार्कषण गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले घटनामा संलग्न हुनसक्ने शङ्कास्पद पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए । भीमदत्त नपा–२ उलटाखामकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलत्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।