बलात्कार घटनाबाट पीडित नौ वर्षीया बालिकाको स्वास्थ्य तथा कानुनी उपचारका लागि इन्सेक क्षेत्रीय कार्यालय धनगढीले साउन १० गते आर्थिक सहयोग गरेको छ ।
साउन ४ गते बलात्कृत भएकी पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक भई हिँडडुल गर्न नसक्ने भएकाले स्वास्थ्य उपचार गर्न कठिनाई भएको बताउँदै पीडित बालिकाका आफन्तले इन्सेकसँग स्वास्थ्य र कानुनी उपचारका लागि सहयोग माग्दै साउन १० गते निवेदन दिएका थिए ।
पीडित पक्षले आर्थिक चलखेल र राजनीतिक शक्तिको आडमा घटनालाई अन्यत्र मोड्न सक्ने भन्दै घटनाका आरोपित कञ्चनपुर जिल्ला पुनर्वास नपा–६ निवासी प्रेट्रोल पम्प सञ्चालन २५ वर्षीय सलिम अन्सारीलाई कारवाहीको माग गरेको छ ।
पीडित पक्षले आरोपितलाई कारबाहीको वातावरण बनाउन इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थासँग आग्रह गरेको छ ।
साउन १० गते बसेको जिल्लास्तरीय मानव अधिकार निगरानी समितिको बैठकमा इन्सेकका प्रलेख अधिकृत एवम् मानव अधिकार निगरानी समितिका सचिव कृष्ण बिकले घटनाको सत्य तथ्य तथा निष्पक्ष छानबिनका लागि सम्वन्धित पक्षलाई दबाव दिन पहल गरिने बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।