INSEC Online

📅 २०८३ जेष्ठ २१

कमैया मुक्तिका १८ वर्षः छुट लगत लिन माग

दाङका मुक्त कमैयाहरूले छुट लगत तत्काल लिन सरकारसँग माग गरेका छन् । १९ औँ मुक्ति दिवसका अवसरमा लमहीमा ¥याली तथा सभाको आयोजना गरी उनीहरूले मुक्त कमैयाहरूको समस्या समाधानका लागि सबैभन्दा पहिले छुट लगत लिनुपर्ने बताए ।

दाङमा १ हजार ४ सय २६ जनाले सरकारी परिचयपत्र पाएका छन् । जिल्ला भूमिसुधार कार्यालय दाङका अनुसार रातो परिचयपत्र पाएका ३ सय २, निलो परिचयपत्र पाएका ४ सय ३, पहेँलो परिचयपत्र पाएका ३ सय २४ र सेतो परिचयपत्र पाएका ३ सय ९७ छन् ।

तर, मुक्तकमैया समाज दाङले जिल्लामा ५ हजार ४६ जना मुक्त कमैयाहरूको लगत छुट भएको जनाएको छ । ठूलो सङ्ख्यामा मुक्त कमैयाको लगत नै छुटेकाले समस्यामा परेको भन्दै मुक्त कमैयाहरूले तत्काल छुट लगत लिन माग गरेका हुन् ।

उनीहरूले मुक्त भएको १८ वर्ष बितेपनि समस्या ज्यूँ को त्यूँ रहेको समेत गुनासो गरे । ‘अधिकार प्राप्तिको सङ्घर्षमै धेरै जोर चप्पल फाटे । तर, अहिलेसम्म एक धुर जग्गा पाइएन । त्यसैले मुक्ति दिवसका दिनमा पनि हर्ष छैन ।’–लमही नपा–३ का मनबुझाउना चौधरीले भने–‘सरकारले ०५७ सालमै मुक्त कमैयाको व्यवस्थापन गरेको भए जिबाको पालामा मुक्त भएका हामी नातीको पालासम्म पनि घर न घाटको हुने थिएनौँ ।’

मुक्त कमैया समाज दाङलगायत आधा दर्जन बढि सङ्घसंस्थाको आयोजनामा मनाइएको मुक्ति दिवसमा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी र प्रदेशसभा सदस्य इन्द्रजीत थारूले सभालाई सम्बोधन गर्दै भने–‘मुक्त कमैयाहरूको समस्याप्रति सङ्घीय र प्रदेश सरकारले ध्यान दिन्छन् । छुट कमैयाहरूको लगत सङ्कलन गर्ने काम सुरू गर्ने तयारीमा छौँ ।’

अन्य

भिडियो