३४ वर्षीय महिलालाई अपहरण गरी गाडी भित्रै बलात्कार गरेको आरोपमा प्रहरीले असार ३२ गते एक एमविविएस डाक्टर पढ्दै गरेका युवासहित चार जनालाई गिरफ्तार गरेको छ ।
सिरहाको लाहान बजारमा औषधि किन्न गएकी महिलालाई जबरजस्ती अपहरण गरी बा १४ च ६८१७ नम्बरको स्कर्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई लालपत्ता प्रहरीचौकीले असार ३२ गते बिहानको राति १ बजे डक्टर पढ्दै गरेका सिरहाको लाहान नगरपालिका–६ का २५ वर्षीय सन्देश गुप्ता, सोही ठाउँका २४ वर्षीय अमित गुप्ता, २५ वर्षीय विवेक साह र चालक सिरहा मिर्चैयाका २६ वर्षीय नितेशकुमार साहलाई गिरफ्तार गरेको हो । उनीहरू सबैलाई प्रहरीले असार ३२ गते पत्रकार सम्मेलनको अयोजना गरी सार्वजानिक गरेको हो ।
गाईघाट–कदमाह सडक खण्डको त्रियुगा नगरपालिका–६ लालपत्तामा प्रहरी चेकजाँचका क्रममा गाडीभित्र महिला नग्न अवस्थामा फेला परेपछि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
नग्न अवश्थामा फेला परेकी महिलालाई प्रहरीले सोधपुछ गर्ने क्रममा आफूलाई लाहान बजारबाट अपहरण गरी गाडीमा बलात्कार गरेको प्रहरीलाई बताएपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको एसपी भट्टले बताए ।
महिलाको वयानलाई उद्घृत गर्दै उनले भने–‘गाडी रोक्नसाथ नग्न महिलाले मलाई बचाउनुस । म बलात्कारमा परेँ भनिन् । लगत्तै आरोपितहरूले हाम्रो दिदी हो भने–‘महिलाले नाता इन्कार गरेपछि घटनाको रहस्य खुल्यो ।’ उनीहरू सिरहाको लहानबाट उदयपुरको गाईघाटतर्फ आउँदै गरेका थिए ।
आरोपितहरूलाई प्रहरीले अपहरण तथा जबरजस्ती करणी महलको मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्ष ०७४/०७५ को अन्तिम साउन ३२ गतेसम्म जिप्रकामा २३ वटा जवरजस्तीकरणी र १५ वटा उद्योग अन्तर्गतका मुद्दा चलाएको छ ।