INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू, वडा नं ३ र ४ का वडा अध्यक्षहरू क्रमश गङ्गाराम थारू र कान्छा थारू, कार्यपालिका सदस्य दमकला जैसीलगायतको समूहले गालीगलौज र दुर्व्यवहार गर्नुको साथै धम्की दिएको पीडितले आरोप लगाएका छन् ।

उनले असार ३० गते नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा  आफूलाई सार्वजनिक स्थलमा गालीगलौज गर्नुका साथै दुर्व्यवहार गर्दै त्यस बारे कँहिकतै उजुरी गरे जे पनि गर्न सक्ने धम्की दिएको आरोप लगाएका छन् ।

‘पीच भएको २४ घण्टा नबित्दै भत्कियो’ शिर्षकको समाचारको विषयलाई लिएर गाउँपालिकाका जनप्रतिनिधिहरू आफ्नो घरमै पुगेर सार्वजनिक स्थलमा लगेर गुण्डाशैलीमा दुर्ब्यवहार गरेको पीडित पत्रकार चौधरीले बताए ।

घटनाका सम्बन्धमा नेपाल पत्रकार महासङ्घ बाँके शाखाले असार ३० गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गर्नुका साथै पत्रकारमाथि दुर्व्यवहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको दायरामा सरकारले नल्याए आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ ।

विज्ञप्तिमा स्थानीय तहका गतिविधिहरूको निगरानी गरी समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म भएको र प्रकाशन/प्रशारण गरिएको कुनै समाचारप्रति आपत्ति भए वा चित्त नबुझे खण्डन गर्न सक्ने र सम्बन्धित निकायहरूमा उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

घटनाका सम्बन्धमा अहिलेसम्म प्रहरीमा कुनै पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो