महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्यूनीकरण कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियार असार २५ गते सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटनको अवसरमा परियार सम्मानित भएका हुन् । भवन उदघाटन समारोहका प्रमुख अतिथि डिआइजी धिरु बस्न्यातले प्रशंसापत्र सहित सम्मान गरेका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार ०७२ असारदेखि लैङ्गकि हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिका सदस्यका हैसियतमा महिला तथा बालबालिकाको अधिकारका लागि जिल्लामा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै पीडितहरूको न्याय प्राप्तिका लागि क्रियाशील रहँदै आएका छन ।

एसियाली विकास बैङ्कको १ करोड ३४ लाख ८९ हजार रुपियाँको आर्थिक सहयोगमा निर्मित सुविधा सम्पन्न भवनको उदघाटन डिआइजी बस्न्यातले गरेका हुन् । भवनमा पीडित कक्ष, कुरुवा कक्षलगायत तालिम कक्ष, आवास कक्षहरू पनि रहेका छन ।
सो समारोहमा जिल्लामा कार्यरत महिला अधिकारकर्मी देवकुमारी महरा, गङ्गा अधिकारी, श्यामकुमारी साह, रेणु कर्ण, रामभरोसी महतो र मुरली सिंह सम्मानित भएका थिए ।