महिला तथा बालबालिकाविरूद्ध हुने हिंसा न्यूनीकरण कार्यमा योगदान पुर्याएको भन्दै इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल असार २४ गते सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उद्घाटनका अवसरमा पोखरेल सम्मानित भएका हुन् । समारोहमा डिआइजी धिरु बस्न्यातले प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
इन्सेक प्रतिनिधि पोखरेलले ०७२ असार १९ गतेदेखि लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सप्तरीको अध्यक्षका हैसियतमा महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबीच समन्वय र सहकार्य गर्दै हिंसा पीडितको न्याय प्राप्तिमा काम गर्दै आएका छन् ।

एसियाली विकास बैङ्कको एक करोड ३२ लाख ३६ हजारको आर्थिक सहयोगमा निर्मित १७ कोठाको साढे दुई तल्ले भवनको प्रहरी नायव महानिरीक्षक बस्न्यातले उद्घाटन गरेका हुन् । भवनमा पीडित कक्ष, कुरुवा कक्ष, बैठक कक्ष, तालिम कक्ष, परामर्श कक्ष, कार्यालय, आवास, भान्सा, डाइनिङ्ग लगायतका कक्षहरू रहेका छन् ।