डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ४० वर्षीया बुधनीदेवी खंगलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले असार १७ गते सोही ठाउँकी जहरीदेबी खंगलाई गिरफ्तार गरेको छ ।
आरोपित खंगसहित सोही ठाउँका ३४ वर्षीय बौना भनिने देवनारायण खंग, ३० वर्षीया सवीतादेबी खंग, २९ वर्षीया फुलोदेवी खंग, २५ वर्षीया सरस्वतीदेवी खंगले जेठ २७ गते कथित बोक्सीको आरोप लगाउँदै गालीगलौज गरी कुटपिट गरेको भन्दै पीडितले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपित जहरीदेवीले आफ्नो पति र छोरालाई कथित बोक्सी विद्याको तन्त्रमन्त्रद्वारा बिरामी बनाएको भन्दै गालीगलौज गरेपछि सबै आरोपित मिलेर कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित महिलाको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र विराटनरस्थित न्युरो अस्पतालमा गरिएको छ । टाउको र शरीरको विभिन्न अङ्गमा चोटपटक लागेर घाइते बनेकी पीडितको घाउँजाँच स्वास्थ्य परीक्षण अञ्चल अस्पताल राजविराजमा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरूद्ध असार १२ गते उजुरी दर्ता गरेको जनाएको छ । अन्य आरोपितहरू फरार रहेको प्रहरीले जनायो ।