२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पलाँता गाउँपालिका-२ का ३४ वर्षीय गणेश बमलाई जिल्ला अदालतले असार ११ गते सात वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत कालिकोटका श्रेस्तेदार शोभाखर खरेलले जानकारी दिए ।
पीडित महिलालाई बमले ०७३ जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७३ जेठ २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको थियो ।
उजुरीपछि आरोपितलाई प्रहरीले ०७३ जेठ २५ गते गिरफ्तार गरी अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ जेठ २० गते गरिएको थियो ।